पोलियो खोप लगाउनका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत

पोलियो खोप लगाउनका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत

एजेन्सी : गाजामा मानवीय सहायता पुर्याउन युद्ध रोक्न इजरायल सहमत भएको छ।

इजरायलले गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन युद्धविराम गर्न सहमत भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

गाजा पट्टीमा सञ्चालन हुने यस खोप अभियानमा छ लाख ४० हजार बालबालिकालाई खोप लगाइने डब्लुएचओका वरिष्ठ अधिकारी रिक पेपरकर्नले बताए।

आइतबारदेखि सुरु हुने यो तीन दिने अभियानले गाजाको मध्य, दक्षिणी र उत्तरी भागलाई समेट्नेछ। युद्धविराम स्थानीय समय अनुसार विहान छ बजेदेखि दिउँसो तीन बजेसम्म लागू हुनेछ।

पोलियोका कारण गाजामा एक १० महिनाको बालकलाई पक्षघात भएपछि इजरायलले यो सम्झौता गर्न तयार भएको हो। गाजामा २५ वर्षपछि पोलियो देखिएको हो।

हाल, गाजामा ओरल पोलियो खोपको १२ लाख ६० हजार डोज छ भने बाँकी चार लाख डोज पनि छिट्टै पुग्ने बताइएको छ।

यो खोप अभियान प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठन, युनिसेफ र यूएनआरडब्लुए सँगको सहकार्यमा हुन लागेको हो। यसमा दुई हजार स्वास्थ्यकर्मी सहभागी हुनेछन्।

गाजा पट्टीमा ९० प्रतिशत खोप लगाउने विश्व स्वास्थ्य संगठनको लक्ष्य छ। द्वन्द्व अघि गाजा र वेस्ट बैंकमा खोप पर्याप्त रहेको डब्लूएचओले बताएको छ।

भदौ १३, २०८१ शुक्रबार ०७:५२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।