ओली दाहिने हुँदा दिनेश बने चलचित्र विकास बोर्ड अध्यक्ष, विद्यादेवी निकट करिश्माको सीप चलेन

ओली दाहिने हुँदा दिनेश बने चलचित्र विकास बोर्ड अध्यक्ष, विद्यादेवी निकट करिश्माको सीप चलेन

काठमाडौं : मन्त्रिपरिषदको बुधबार बसेको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसीलाई नियुक्त गर्यो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली निकट रहेका डिसी बोर्डको अध्यक्ष बन्दैगर्दा उनीबाहेक राजेश थापा, दीपा बस्नेत, प्रकाश भट्टराई र अर्जुन कुमार डङ्गोलको आवेदन खेर गयो। 

आवेदन दिने मध्येकी एक थिइन्, अभिनेत्री करिश्मा मानन्धर। अभिनय यात्रालाई उत्तरार्द्धतर्फ आइपुगेको हुनाले पनि करिश्माको लागि बोर्ड अध्यक्ष महत्वपूर्ण थियो। त्यही बुझेर अध्यक्षका लागि मरिमेटेर लागि परेकी करिश्माको अन्ततः केही सीप चलेन। 

अध्यक्ष बन्न करिश्माले कुनै कसर बाँकी राखेकी थिइनन्। आवेदन दिएपछि उनी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट्न पुगिन्। 

तर, कसलाई बोर्डको अध्यक्ष बनाउने त्यसमा प्रधानमन्त्री ओलीको भूमिका महत्त्वपूर्ण हुनेहुँदा ओलीकै तथास्तुमा दिनेश अध्यक्ष बने। तर, त्यसका लागि दिनेशले पनि कम मेहनत गरेका छैनन्। यसबीचमा उनले पटकपटक प्रधानमन्त्री ओलीलाई भेटिसकेका थिए। 

फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी टेलिभिजन र रेडियो कार्यक्रमका निर्माता र प्रस्तोता पनि हुन्। उनी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष हुन्।

यसअघि बोर्डको अध्यक्षमा भुवन केसी थिए। उनको कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो। 

भदौ १३, २०८१ बिहीबार २१:४२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।