केपी ओलीका प्रिय अर्याललाई जुर्‍यो मुख्यसचिव पद , गृह प्रशासनमा 'विवादरहित छवि'को साथ

केपी ओलीका प्रिय अर्याललाई जुर्‍यो मुख्यसचिव पद , गृह प्रशासनमा 'विवादरहित छवि'को साथ

काठमाडौँ : २०४६ माघ ४ गते नायब सुब्बाका रूपमा सरकारी सेवामा प्रवेश गरेका एकनारायण अर्यालको सचिवको पदावधि फागुन १८ मा पाँच वर्ष पुग्दै थियो। उनी २०७६ फागुन १८ मा सचिवमा बढुवा भएकाले उनी अनिवार्य अवकाशमा जाने पक्का थियो।

५८ वर्षको उमेर हदका कारण मुख्यसचिव लीलादेवी गड्तौलाको निजामतीको यात्रा शुक्रवार सकिँदै थियो। वरिष्ठता र कार्यकुशलताका आधारमा नियुक्त हुने मुख्यसचिव पदको प्रतिस्पर्धामा अर्याल चौथो नम्बरमा थिए। उनी मुख्यसचिव हुने आधार सरकारले कार्यकुशलता टेके मात्र थियो।

अन्तमा सरकारले त्यही कार्यकुशलतामा टेकेर अर्याललाई मुख्यसचिवमा नियुक्त गर्यो। उनको बढुवासँगै अब उनीभन्दा वरिष्ठ भए पनि तीन सचिव यही वर्ष लाइन लागेर सचिवको पदावधिका आधारमा अवकाशमा जानेछन्।

मुख्यसचिवको प्रतिस्पर्धामा राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पहिलो वरियतामा थिए। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी दोस्रो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई मुख्यसचिवको प्रतिस्पर्धामा तेस्रो वरियतामा थिए।

निजामती सेवा ऐन २०४९ ले बहालवाला सचिवहरूमध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधार हेरेर मुख्यसचिव नियुक्त गर्ने सुविधा सरकारलाई दिएको थियो। केपी ओलीका प्रिय प्रशासकको रूपमा परिचित अर्याल अन्तमा मुख्यसचिव भए।

अर्याल मुख्यसचिव भएकाले अब पहिलो बरीयतामा रहेका ज्ञवाली भदौ २२ मा सचिवको पाँच वर्षीय पदावधिका आधारमा अवकाशमा जानेछन्। उनी प्रशासनमा नेपाली कांग्रेस निकट रूपमा परिचित थिए।

कांग्रेसको जोडबल चलेको भए ज्ञवालीको सम्भावना थियो। तर मुख्यसचिव प्रधानमन्त्रीको विश्वासयोग्य हुनुपर्ने भएकाले कांग्रेसले जोडबल लगाउन सकेन। ओलीको छनौटमा अर्याल थिए, अर्याल नै मुख्यसचिव नियुक्त भए।

अर्का सुवेदीको कात्तिक ५ गते अवकाश हुनेछ। उनी माओवादी नेताहरू निकट रहेकाले उनी एमाले नेतृत्वको सरकारको छनौटमा पर्न सकेनन्। भट्टराई माघ २९ मा अवकाशमा जानेछन्। नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृह सचिव रहेका उनी भुटानी शरणार्थीको अनुसन्धानमा जोडिएकाले न एमाले न कांग्रेस कसैको रोजाइमा थिएनन्।

असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि निमित्त भएकी गड्तौलालाई सरकार बदलिएर केपी ओली प्रधानमन्त्री भए लगत्तै मुख्यसचिवमा नियुक्त गरेको थियो।  उनले निजामती प्रशासनमा पहिलो महिला मुख्यसचिवको इतिहास निर्माण गरिन्।

ओलीका प्रिय प्रशासक

गृह प्रशासनमा विभिन्न पदमा रहेर काम गरेका अर्याल रवि लामिछाने गृहमन्त्री हुँदा गृहमा सचिव भएर आएका थिए। विभागीय मन्त्रीको स्वीकृति नभई सम्बन्धित मन्त्रालयको सचिव हुन प्राय असम्भवै हुन्छ। उनी गृहमा लामिछानेको कार्यकालमा आए पनि लामिछानेको रोजाइमा आएका हैनन्।

दिनेश भट्टराई हटाएर रवि गृहमा नयाँ सचिव ल्याउन चाहन्थे। तर निजामती प्रशासनमा पार्टी प्रभाव विस्तार नभएको र रवि निजामती प्रशासनबारे त्यति जानकार पनि नभएकाले उनी सचिव छान्न एमाले अध्यक्ष केपी ओलीको भरमा परे। ओलीले एकनारायणको नाम सुझाए।

गृह प्रशासनका विभिन्न तहमा बसेर काम गरेका अनि विवादमा पनि नआएका अर्यालको नाम रविले स्विकारे र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेर उनलाई २०८० फागुन १८ मा गृह सचिवमा ल्याए। उनी गृहसचिव हुँदा रविलाई राम्रै सघाएका थिए।

तर उनले गृह प्रशासनको कमाण्डरको रुपमा गृहमन्त्री रविले गरेका केही काममा हुन्न भन्न भने सकेनन्।मन्त्रालयमा सिमित प्रहरी अधिकृतको प्रभाव बढ्दा उनले रविलाई उचित सल्लाह दिन सकेनन्। हेल्लो गृहमन्त्री जस्तो वाहियात कार्यक्रम ल्याउँदा पनि उनी मौन बसे। बढुवाको बैठकमा गृहमन्त्रीले दबाब बढाउँदा बरु एआइजी तहका प्रहरीले 'कसैलाई अन्याय हुने निर्णयमा मेरो कलम चोपिदैन' भन्ने हिम्मत गरे। तर अर्याल मौन बसे। प्रतिकुल निर्णयमा पनि हस्तक्षेप नगर्ने, मौन बस्ने उनको स्वभावले उनलाई मुख्यसचिवसम्म बनायो।

गृह प्रशासनको अनुभवी तर कम विवादित

गृह प्रशासनको विभिन्न पद अझ विशेष काठमाडौँको प्रमुख जिल्ला अधिकारी भएर पनि अनियमितता, उठ्तिपुठ्तीको विवादमा नपर्नु भाग्य नै हो। अर्याल त्यस्तै भाग्यमानी प्रशासन भए। जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तनहुँ र मकवानपुरको प्रमुख जिल्ला अधिकारी भए पनि विवादमा पनि तानिएनन्।

उनी भारतको कोलकातामा नेपालको तर्फबाट महावाणिज्य दूत समेत भए। महावाणिज्य दूतबाट उनी काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका थिए। महानगरको कार्यकालमा पनि उनी विवादमा परेनन्।

२०७६ फागुन १८ मा उनी सचिवमा बढुवा भएपछि सामान्य प्रशासन, श्रम तथा रोजगार मन्त्रालय, मन्त्रीपरिषद् कार्यालय हुँदै गृहमा आएका थिए। गृहबाट सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जाने गरी मुख्य सचिवमा नियुक्त भए।

भदौ १२, २०८१ बिहीबार २२:४३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।