अन्तर्जातीय प्रेमका कारण मीना परियार हत्या भएको परिवारको आरोप, थप एकजना पक्राउ

अन्तर्जातीय प्रेमका कारण मीना परियार हत्या भएको परिवारको आरोप, थप एकजना पक्राउ

काठमाडौं : म्याग्दीको बेनी नगरपालिका-९ तोरीपानीकी १९ वर्षीया मीना परियारलाई आठ महिनाअघि बेपत्ता र हत्या गरेको घटनामा संलग्न भएको आरोपमा थप एकजना पक्राउ परेका छन्।

पोखरामा पक्राउ परेका बेनी नगरपालिका-९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई बिहीबार म्याग्दी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको छ। 

घटनामा संलग्न चार जना यसअघि नै पक्राउ परेका र फरार रहेका श्यामलाई म्याग्दीबाट खटिएको टोलीले कास्की प्रहरीको सहयोगमा बुधबार पोखरामा पक्राउ गरेर ल्याएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताए। 

गत पुस १६ मा राति बेपत्ता भएकी परियारको शव गत साउन २७ मा बेनी नगरपालिका-९ र १० को सिमानामा पर्ने कालीमूलको जङ्गलमा भेटिएको थियो। 

व्यक्ति बेपत्ता बनाएको कसुरमा २०८० माघ २३ मा पक्राउ परेका तोरीपानीका २५ वर्षीय राम खत्रीलाई म्याग्दी जिल्ला अदालतको गत फागुन १७ को थुनछेक आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। छ महिनाको गर्भपतन गराउने विषयमा मीना र रामबीच म्यासेन्जरमा भएको कुराकानीको आधारमा किटानी जाहेरी दर्ता भएकै दिन रामलाई प्रहरीले पक्राउ गरेको थियो।  

गाडिएको अवस्थामा भेटिएको शव र सँगैका गहना तथा कपडा मीनाको भएको सनाखत गरेका परिवारले गत साउन ३० मा रामसहित उनकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री र सालो नाता पर्ने २३ वर्षीय रोजन खत्रीलाई प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। 

फरक-फरक मितिमा पक्राउ परेका रेणु, विक्की र रोजनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताए। 

'पहिले व्यक्ति बेपत्ता बनाएको कसुरमा मुद्दा चलाए पनि भेटिएको शवको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ,' उनले भने। 

चिकित्सकको शव परीक्षण, विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, शवसँगै भेटिएका सामग्री, म्यासेन्जर कुराकानीलगायतका तथ्य, प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको छ। 

रायमाझीका अनुसार भेटिएको शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रुणसमेत रहेको पुष्टी भएको छ। घटनाको थप अनुसन्धान गर्नका लागि डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। 

परियार हत्या घटनाको सत्यतथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्यायका लागि दबाब दिन बेनीमा पछिल्लो १५ दिनयता दैनिकजसो धर्ना र प्रदर्शन भइरहेको छ। 

बिहीबार संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा बेनी बजारमा भएको दबाब र्यालीपछिको कोणसभाका बत्ताहरुले अन्तर्जातीय प्रेम सम्बन्ध हुँदै गर्भवती बनाएर नियोजित रुपमा मीनाको हत्या गर्नेलाई हदैसम्मको कारबाहीको माग गरेका थिए।

दबाब र्यालीहरूमा मेनका परिवार र अधिकारकर्मीहरूले अन्तर्जातीय प्रेमकै कारण मीनाको हत्या गरिएको आरोप लगाउँदै आएका छन्। 

मीनाको ज्यान लिने कार्यमा संलग्नलाई कारबाहीको सुनिश्चित नभएसम्म शव दाहसंस्कार नगरी बेनी अस्पतालका शवगृहमा राखेको मीनाकी भाउजू कमला बर्देवा परियारले बताइन्। 

'अहिलेसम्म हत्याराहरू सार्वजनिक गरिएको छैन, एउटा मान्छेले मात्र यसरी घटना घटाएको होइन, न्यायका लागि धाउँदाधाउँदै थाकिसकेका छौँ', कमलाले भनिन्, 'छिमेकी राम खत्रीको प्रेममा रहेकी मीना करिब छ महिनाको गर्भवती भएको उनीहरू दुई जनाबीच बेपत्ता हुँदाको राति भएको म्यासेन्जर कुराकानीबाट प्रमाणित भएको छ।'  

भदौ १२, २०८१ बिहीबार २०:०३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।