संसद्मा  ब्यक्ती लक्षित आरोप-प्रत्यारोप : गगन- रविको घोचपेच जारी रहँदै सुरु भयो माओवादीको योगेश लक्षित आक्रमण

संसद्मा  ब्यक्ती लक्षित आरोप-प्रत्यारोप : गगन- रविको घोचपेच जारी रहँदै सुरु भयो माओवादीको योगेश लक्षित आक्रमण

काठमाडौँ : संसद्मा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी, अझ विशेष रवि लामिछाने र गगन थापाबीच घोचपेच र आरोप-प्रत्यारोप चलेको लामै समय भइसक्यो। प्रारम्भमा कायम दोस्तीयारी ‘घण्टी कांग्रेस’ को आरोपसँगै अनन्य मित्र स्वर्णिम वाग्लेको रास्वपा प्रवेशसँगै ‘खाँटी दुस्मनी’मा बदलिँदै गयो। गृहमन्त्रीको रूपमा रविको सत्ता यात्रासँगै कांग्रेसले प्रतिनिधि सभामा सहकारी ठगीको अनुसन्धानलाई मूल मुद्दा बनाएपछि दुबैबीचको घोचपेचकोक्रम बढ्दै गयो।

रवि सत्ताधारीबाट प्रतिपक्षी अनि गगन प्रतिपक्षीबाट सत्ताधारी बनिसक्दा समेत यी दुबैबीचको आरोप-प्रत्यारोप चलिरहेकै छ। सहकारी ठगीमा रविको संलग्नताबारे पुष्टि हुने प्रमाण रहेको गगनको दाबीलाई आधार बनाउँदै रवि अनि उनी निकट रास्वपाका नेताहरूले सोधिरहेका छन् ‘प्रमाण खै?’

पार्टीका कार्यक्रम होस् या पत्रकार, जता पनि रविले भनिरहेका छन् ‘प्रमाण खै?’ सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय समितिमा १० घण्टा लामो बयान दिएर बाहिरिदैगर्दा पनि उनले यही प्रश्न गरे। त्यसपछि भरतपुर पुगेका उनले त्यतै पनि उही प्रश्न गरे।

रास्वपाका नेताहरूको सोधिरहेको ‘प्रमाण खै?’ भन्ने प्रश्नको जवाफमा गगनले बिहीबार प्रमाण त सार्वजनिक गरेनन् तर प्रतिनिधि सभामै उत्तर भने दिए।

उनले ‘हामीसँग भएको तथ्य प्रमाण समितिमा पुगेन होला?’ भन्ने प्रश्न गर्दै समितिमा रहेका कांग्रेसका प्रतिनिधि मार्फत समितिमा प्रमाण दिएको सङ्केत गरे। उनले भने ‘हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला? यसो ख्याल गर्नुभएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला।’

उनले समितिबाट यसबारे निर्णय आउनै बाँकी रहेको भन्दै भने ‘फैसला त आउनै बाँकी छ। त्यसैले म त फैसला कुरेर बसेको छु। तथ्य प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिरहेको छु’, उनले भने, ‘त्यसैले दिन गनौँ, राम्रोसँग गनौँ। औँला भाँचेर गनौँ, लेखेर गनौँ। फैसला आउने दिन गनौँ।’

यसले प्रमाण माग्ने र जवाफ दिने क्रम सहकारीको रकम अपचलन सम्बन्धी संसदीय समितिको प्रतिवेदन कुर्न उनले आग्रह गरेका थिए। एमाले संसद् सूर्यबहादुर थापाको संयोजकत्वमा बनेको संसदीय समितिले अन्तिममा रवि लामिछानेको बयान सकाएर प्रतिवेदन लेखनमा प्रवेश गरिसकेको छ। समस्याग्रस्त घोषित र गोर्खा मिडिया प्रालि जोडिएको सहकारीमा भएको बचतकर्ताको रकम अपचलनको छानबिन गर्ने कार्यादेश पाएको समितिले लामिछानेसहित ५० जनाको बयान लिइसकेको छ।

एमाले-माओवादीको आरोप-प्रत्यारोप, तारोमा योगेश

उता सत्ताधारी दल नेपाली कांग्रेस अनि रास्वपाबीचको आरोप-प्रत्यारोपमा गगन र रवि केन्द्रमा छन्। यता सरकारको नेतृत्व गरिरहेको दल एमाले र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरू बुधबारबाट आरोप-प्रत्यारोपमा उत्रिए।

गृहमन्त्रीको रूपमा संसद्मा बोल्ने क्रममा रविले गगनलाई ‘विदेशीलाई सूचना बेचेको’ आरोप लगाएका थिए। कांग्रेसले यसबारे छानबिनको माग गरे पनि केही भएन। लिक भएको अमेरिकी केवलमा गगन नेपालस्थित अमेरिकी दूतावासको क्लोज कन्ट्र्याक्ट रहेको व्यक्ति उल्लेख गरेको आधारमा उनलाई अमेरिकाका लागि जासुसी गर्ने गरेको आरोप लाग्न सुरु भएको थियो। तर यसको कहिँकतैबाट पुष्टि भने भएको छैन। बिहीबारको संसद्मा योगेशमाथि पनि माओवादीहरूले यस्तै अप्रमाणित तर गम्भीर आरोप लगाए।

यी दुई दलबीच नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथिको कारबाही र डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुल विवादपछि सार्वजनिक लेखा समितिबाट आरोप प्रत्यारोप सुरु भएको थियो। बुधवार यही विषयमा संसद्मा एमाले सांसद योगेश भट्टराईले बोल्दा बोल्दै माओवादीको १० वर्षीय सशस्त्र सङ्घर्षलाई हिंसात्मक भनेपछि विवाद शुरु भएको थियो।

माओवादी सांसदहरूले ‘जनयुद्ध’ लाई हिंसात्मक घटना भनेर शान्ति प्रक्रिया भाँड्ने प्रयास गरेको भन्दै बुधवार सांसदमा निकै आक्रोशित भएका थिए। बिहीबार माओवादी सांसदहरू विषय केन्द्रित नभई व्यक्ति केन्द्रित भए। उनीहरूले योगेश भट्टराईमाथि हतियार तस्करीसम्मको गम्भीर आरोप लगाए।

आरोपको आधार थियो कुनै बेला एमालेमै रहेका र अहिले एकीकृत समाजवादीमा पुगेका सांसद प्रेम आलेको एक दाबी। उनले योगेशलाई माओवादी द्धन्द्धकालमा हतियारको तस्करी गरेको आरोप लगाएका थिए। एक टेलिभिजन अन्तर्वार्तामा उनले लगाएको प्रमाणहीन आरोपलाई बिहीबार माओवादी सांसदहरूले संसद्मा प्रवेश गराए।

माओवादी केन्द्रका सांसद छिरिङ डम्फु लामा भोटेले युद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले ‘जनयुद्ध’लाई हिंसा भन्नु गैर जिम्मेवार भएको तर्क गरे। सांसद छिरिङ ल्याहू लामा तामाङले योगेश पर्यटनमन्त्रीहुँदा नारायणहिटीभित्र बतास कम्पनीलाई क्यान्टिनको नाममा रेस्टुरेन्ट खोल्न दिएको विषयसँगै आलेले टेलिभिजन अन्तर्वार्तामा गरेको दाबी समेत उप्काइन्।

सम्बन्धित समाचार

भदौ १२, २०८१ बिहीबार १८:३७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।