प्रचण्डलाई सचिवालय बैठक बसेर एमालेले भन्यो- गैरजिम्मेवारी अभिव्यक्ति नदिनू

प्रचण्डलाई सचिवालय बैठक बसेर एमालेले भन्यो- गैरजिम्मेवारी अभिव्यक्ति नदिनू

काठमाडौं : एमालेले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। 

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार प्रतिनिधि सभाको बैठकमा विभिन्न देशको घटनासँग जोडेर अध्यक्ष प्रचण्डले विभिन्न आवेगपूर्ण अभिव्यक्ति राखेकोमा ध्यानाकर्षण गराएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। 

उनले भने, ‘पछिल्लो समयमा समाजमा केही अराजकताको प्रवृत्ति बढेको जस्तो भएको छ। विभिन्न देशका घटनासँग जोडेर चर्चा परिचर्चा हुँदै गरेको र संसदमा रहेका कतिपय दलहरू खासगरी सत्ताबाट बाहिरिएसँगै बढि आवेगपूर्ण टिप्पणीहरू र अभिव्यक्ति दिन थाल्नुभएकोप्रति पनि ध्यानाकर्षण भएको छ। यस्तो गैरजिम्मेवारी अभिव्यक्ति कसैले पनि दिनुहुन्न। त्यस्तो कुरामा बढावा दिनुहुँदैन। यस विषयमा पनि बैठकले ध्यानाकर्षण गराएको छ।’

अध्यक्ष प्रचण्डले मंगलबार प्रतिपक्षी दलको हैसियतमा बोल्दै संसद्मा आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए। उनले श्रीलंका र बंगलादेशको घटना नेपालमा पनि दोहोरिन सक्ने अभिव्यक्ति राखेका थिए।  

सचिवालय बैठकले पार्टीको नयाँ वार्षिक कार्ययोजनाको मस्यौदा तयारमा सामान्य छलफल गरेको छ। नयाँ वार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउने लगायतका विषयमा समेटिएको ज्ञवालीले बताए। 

बैठकले यही भाद्र २६ मा स्वर्गीय सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ।  

भदौ १२, २०८१ बिहीबार १८:१२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।