५८ वर्ष मालपोतमा काम गरेका पुष्पको हिजोको कुरा : बाबु मरेर जग्गा नामसारी गर्न आएकासँग पैसा नमागेको भनेर हाकिमले नवलपरासी सरुवा गरिदिए

५८ वर्ष मालपोतमा काम गरेका पुष्पको हिजोको कुरा : बाबु मरेर जग्गा नामसारी गर्न आएकासँग पैसा नमागेको भनेर हाकिमले नवलपरासी सरुवा गरिदिए

पुष्प बहादुर केसी उमेरले ७६ वर्ष लागे। ललितपुरको इमाडोलमा बस्दै आएका उनी ९ जना सन्तानमध्येका कान्छा हुन्। गज्जबको कुरा त, उनी यो बुढेसकालमा पनि हस्पिटलको बेडमा बसेका छैनन् रे। वि.स.२०२८ सालमा मालपोतमा खरिदारको जागिर सुरू गरेका उनले ०६२ सालमा अवकाश लिए। ५८ वर्ष सरकारी जागिरे हुँदा उनको बढुवा कहिल्यै भएन। उनी खरिदारबाट नै अवकाश लिए। उनलाई यही कुराको दुखेसो अझैसम्म पनि रहेछ। 

उनी पछिल्लो समय कृतन-भजनका गीतहरूमा व्यस्त छन्। श्रीमतीको देहान्तपछि उनले विभिन्न भजन-कृतनका गीतहरू आफ्नै शब्द रचना र स्वरमा रेकर्ड गर्दै आएका छन्। ७२ सालपछि उनले अहिलेसम्म २ दर्जन भन्दा बढि भजनहरू सार्वजनिक गरिसकेका छन्। उनका ‘बोल बम’,नारायण हरि’,‘श्रीदेवी माता’,‘पाथीभरा माता’लगायत अधिकांश भजन चर्चामा छन्। 

उनले आफूले देखेका, भोगेका र अनुभव गरेका कुराहरुलाई उकेराको कोलम हिजोको कुरामा यसरी सुनाए :

बाल्यकालको इमाडोल 
म घरको कान्छो छोरो। सानोमा मेरो बोलाउने नाउ बच्चुराम थियो। म जन्मेको इमाडोलमै हो। झिँगटीका छानोका २/३ तलाको घर थियो। त्यतिबेला पक्की घर भनेको हातका औँलामा गनिने थिए।

यो ठाउँमा हिजो अस्तिसम्म ४/५ हजारमा नै एक रोपनी जग्गा आउँथ्यो। अहिले यही ठाउँमा आनाकै ५० लाखभन्दा घटि पाइँदैन। त्यति महँगो भइसक्यो। यी जग्गाको भाउ यति महँगो होला भन्ने कुरा मैले कल्पना नै गरेको थिइँन।

हिजो अस्तिसम्म हजारमा आउने जमिन अहिले लाख पर्ला भनेर मैले कसरी सोच्नु! त्यतिबेला यो ठाउँमा यही वरिपरीका मान्छेहरू बस्थ्यौँ। अहिले त यहाँ ७७ जिल्लाका मान्छेहरूको बसोबास छ। खाली जग्गै छैन। म बसेको यो घरबाट पशुपतिको गजुर देखिन्थ्यो। अहिले त घरै घरको टुप्पो मात्रै देखिन्छ। यो देखेर आफैं चकित छु। 

स्कुलमा पढ्दा केटै-केटा, केटी त ३/४ जना मात्रै 
मैले थाहा पाउँदा स्कुलहरू प्रशस्त खुलिसकेका थिए। यही नजिकै गम्भीर समुन्द्र सेतु स्कुल थियो। अहिले हाइस्कुल भएको छ। त्यहाँ मैले ५ कक्षासम्म पढेँ। त्यसपछि महेन्द्र आदर्श भन्ने स्कुलमा भर्ना भएँ। यही इमाडोलमै छ, त्यो स्कुल पनि। पहिला स्कुल थियो, अहिले यो क्याम्पस भएको छ।

महेन्द्र आदर्शपछि पाटन स्कुलमा पढ्न गएँ, अहिले पाटन ढोकामा रहेको पाटन हाइस्कुल। त्यसपछि विश्व निकेतन हाइस्कुल त्रिपुरेश्वरमा पढ्न थालेँ। त्यो स्कुलमा पढ्न जाँदा खोलै-खोला हुँदै त्रिपुरेश्वर पुगिन्थ्यो। त्यतिबेला बसको सुविधा पनि थिएन। 

इमाडोलबाट हिँड्दै त्रिपुरेश्वरमा पढ्न टाढा भो भनेर यही नजिकै मछिन्द्र इन्स्टिच्युटमा पढेँ। त्यहाँबाट गतिलो नतिजा नआएपछि फेरि एसएलसी सरहको नेपाल प्रवेशिका विधि विद्यापीठ भन्ने स्कुलमा पढ्न थालेँ। यसबाट एलएलसी सरहको पास भएर महेन्द्र रत्न पब्लिक कलेज वसन्तपुर दरबारमा पढ्न थालेँ। गाडी नभएपछि साइकलमै आउँथे। हुन त साइकलमा चढेर जाँदा पनि पहिलो कक्षा भ्याउनै मुस्किल हुन्थ्यो। 

त्यसबेला स्कुलमा विद्यार्थीहरू निकै हुन्थे तर, केटीहरू मुस्किलले भेटिने। ५० जना केटाहरू भएको ठाउँमा ३/४ जना केटीहरू हुन्थे। हाम्रै कक्षामा केटीहरू ३/४ जना थिए। किन हो कुनी, उनीहरू खासै स्कुलमा भेटिँदैन थिए। ललितपुरमा नै कन्या निकेतन भन्ने स्कुल थियो। त्यहाँ भने केटीहरू पढ्थे। 

५८ वर्ष मालपोतमा काम गर्दा पनि बढुवा भएन
महेन्द्र रत्न पब्लिक कलेज वसन्तपुर गइरहेको थिएँ। पढाइमा त्यति ट्यालेन्ट नभएकोले पनि होला, पढ्नमा त्यति मन गएन। सरकारले त्यही समयमा खरिदारमा जागिर खुलायो। अनि मैले पनि त्यसको फारम भरें। त्यतिबेला ६/७ पेपरै जाँच दिएर पास भएको हो।

त्यसपछि अर्को तीन वटा विषयमा मात्रै दिनुपर्ने लोकसेवाले प्रत्येक वर्ष बजेटमा समावेश भएसम्मका लागि स्थायी भनेर विज्ञापन निकालेको थियो। त्यसमा पनि परीक्षा दिएँ। दुवैबाट मेरो खरिदारमा नाम निस्कियो। 

खरिदार भएपछि वि.स. २०२८ भदौबाट काम गर्नेगरी बाराको कलैयाको मालपोत कार्यालयमा पठाइयो। त्यहाँ २ वर्षसम्म काम गरें। त्यसपछि ललितपुरको मालपोत हुँदै भूमिसुधारमा काम गरें। फेरि ललितपुरबाट काठमाडौंको डिल्लीबजारमा सरुवा भयो। जागिरमा लागेपछि पढाई पनि छुट्यो। यही वरिपरी नै घुमिरहें। 

जतिसुकै मेहनत गरेर काम गरे पनि खरिदारभन्दा माथिल्लो पोष्टमा जानै पाइँन। खरिदारबाट नै मैले ५८ वर्षमा अवकाश पाएँ। त्यतिबेला कुनै पद खाली पनि हुँदैन थियो। खाली भयो भने पनि मन्त्रीका, ठुलाबडाका मान्छेहरू भर्ती गरिहाल्थे।

मालपोतमा त्यही त हो नि, पहिलेदेखि नै। सिटै खाली नहुने र मेरो प्रमोसन पनि नहुने। अनि काजमा मलाई अलिक दिन काभ्रेमा पनि पठाइयो। त्यहाँ मैले नायब सुब्बामा फारम भरेको थिएँ, १ नम्बर नपुगेर पास भइँन। 

त्यहाँका हाकिमहरूले कम्प्युटरको प्रमाणपत्र लिदिन्छु भन्नेसम्मको कुरा समेत गरेका थिए। मैले केही जानेकै छैन, प्रमाणपत्र लिएर के गर्नु? जान्दै नजानेको कुरामा हात हालेर बेकारमा भोलि छानबिन केही भयो भने फसिन्छ भनेर लिइँन।

मैले २८ सालमा जागिर सुरुवात गर्दा ७/८ कक्षा पढेकाहरूले पनि खरिदार, सुब्बा चलाएर बसेका थिए। पढेलेखेका मान्छे थोरै भएकाले जागिर पाउन सजिलो थियो। ३०/३५ सालयताबाट मात्रै मान्छेहरूले अलिक पढ्न थालेका हुन्। पढेकाहरूले पनि छानी-छानी लोकसेवाबाट नाम निकालेर जागिर खान सक्थे। राम्रो काम गर्नेहरूको प्रमोसन हुन्थ्यो।

अहिले त पिएचडी गरेर पनि के गर्नु, जागिर पाउने हैन। अहिले त भन-सुन आफ्ना आफन्त, यस्तै-यस्तै भयो भने पायो, नत्र छैन। त्यतिबेला लोकसेवा पास भयो कि जागिर खायो। 

हाकिमले चित्त नबुझाउँदा सरुवा
मैले जागिर खाँदा पञ्चायत व्यवस्था नै कायम थियो। त्यतिबेला खरिदारमा जागिर खाँदा १ सय ५० रुपैयाँ तलब थियो। विस्तारै बढ्दै गयो। ६२ सालमा म रिटायरहुँदा अहिले पेन्सन नै २७/२८ हजार आउँछ।

मैले यो जागिरका सिलसिलामा धेरै कुराहरू भोगेको छु। बाराबाट मेरो राजधानीमा सरुवा भएपछिको कुरा हो। ललितपुर मालपोत कार्यलयमाहुँदाखेरि मेरो हाकिमसँग लफडा परिरहन्थ्यो। म लोतोपोतो कुरा नगर्ने भएर पनि होला, कोही हाकिम नजिक हुन्थे भने कोही निमोठिएका हुन्थे।

हाकिमले काम लगाए भन्दैमा नहुने कुरामा 'हवस् हजुर' भन्नु त भए नि। हुने रैछ भने गरिदिन्थे, नहुने रैछ भने यति कारणले यो काम गर्न मिल्दैन भनेर भन्दिन्थेँ। अनि यो चर्को रहेछ भनेर हाकिमहरू मलाई खेद्न खोज्थे।
 
एकपटक  ललितपुर मालपोतमा पाटनको एक जनाको १५/१६ रोपनीको जग्गा रैछ। जग्गा भए पनि आर्थिक अवस्था भने कमजोर। बुबा बितेपछि नामसारी गर्न आए। मलाई हाकिमले यत्रो जग्गा छ, अलिकती मिलाउन भने। मैले हुँदैन भनें। त्यसो भनेको केही घण्टा पछि फेरि बोलाए। तर, मैले हुँदैन हाकिमसाप भनेर दोहोर्याए। 

नामसारी गर्न आएको मान्छेलाई यसो हेरें, सबै टालेको लुगा लगाएर आएका छन्। लालपूर्जा र क्षेत्रफल भएर मात्रै हुँदैन नि। तर हाकिमले उनको जग्गामा नजर लगाइसकेका थिए।

१२ बजेतिर हाकिमले 'के छ, बन्दोबस्त मिलाएर आयौ' भनेर सोधे। मैले 'के बन्दोबस्त मिलाउनु? गरिब छ हजुर, बन्दोबस्त गर्न अलिक अफ्ठ्यारै छ यसको' भनेर जवाफ फर्काएँ। 

मैले नटेरेपछि सुब्बालाई बोलाए। सुब्बा मेरै नातेदार थिए, आफ्नै जेठान। उहाँलाई पनि 'पुष्पले लिएर आएको मान्छे, लौन मिलाउनु पर्यो' भनेछन्। जेठानले आएर मलाई सोधे। मैले हुँदैन भन्ने नै दोहोर्याएँ। तर हाकिमले छाडेका हैनन्। फेरि हाकिमले बेलुका ४ बजेतिर बोलाएर त्यहीकुरा सोधे। अनि मैले 'कहाँबाट मिलाउनु हजुर, चिया त मैले खान दिँदैछु' भनेँ। 

एकछिनपछि अति लाग्यो, मेरो ब्रमाण्ड तातिहाल्यो। अनि 'कसरी मिलाउनु? तपाईं हाम्रो जग्गा दिने होर, नियमले मिलेको उसको अधिकारले पाको, बाउको नामबाट नामसारी गर्न आको' भनेर झर्किएपछि भटाभट काम गरिदिए। मैले यति भनेको थिएँ, भोलिपल्ट त मलाई नवलपरासीमा सरुवा गरिदिएछन्। 

खेतबारीमा काम गर्नेको ज्याला ३ सुका, गाडी भाडा २० पैसा
नौरथामा हामी दैनिकजसो अहिलेको शंखमुलमा नुहाउन जान्थ्यौँ। खासमा त्यो शंकर मूल हो, पछि शंखमुल भयो। त्यतिबेला बालुवाबाट नै पानीको मूल आउँथ्यो। त्यही बालुवामा पानी भुलुक्क उम्लिएपछि नुहाइन्थ्यो। अनि लुगा फेरेर हिँड्दै पशुपतिनाथको दर्शक गरिन्थ्यो र फर्केर आउँदा लुगा लिएर आउने गरिन्थ्यो। 

त्यसबेला शंखमुलमा त एउटै घरै थिएन भन्दा पनि हुन्छ। पुरै काँडाघारी हो। एउटा गोल्छाको धेरै पछि गोलो घर बनेको थियो। अहिले त घरैघर छन्। त्यस्तो होला भनेर मैले कहिल्यै कल्पना पनि गरेको थिइँन। अलिक माथि नयाँ बानेश्वरको संसद भवनका वरपर सबै खेतैखेत थियो। अनि जग्गा पनि धेरै सस्तो थियो। 

१० रुपैया बगलीमा हुने हो भने काठमाडौं, भक्तपुर ललितपुर जहाँ-जहाँ पुगेर जे-जे खाए पनि प्रशस्तै पुग्थ्यो। अहिले त १० रुपैया के पैसै होइन जस्तो भयो। 

म ९ कक्षामा पढ्दाखेरि बुबाले १० पैसा दिनुभएको थियो। चना, नास्ताको २ पैसा पर्थ्यो। थापाथलीमा एउटा होटल थियो। त्यहाँ खाजा खानेको लाइन हुन्थ्यो। चना, बदाम, बकुल्ला यस्तै-यस्तै खानेकुरा खाइन्थ्यो। त्यतिबेलाको दुई पैसामा एकापट्टी त्रिशुल अर्कोतिर खुकुरीको छाप थियो। तर, पनि निकै ठुलै हुन्थ्यो। अहिलेको २ रुपैयाँको डबलको पैसा भन्दा पनि ठुलो। अहिले त ति पैसाहरू कता गए कता! सबै मासिए। 

इमाडोलमा खेतबारीमा काम गर्दा अर्म-पर्म चल्थ्यो। कतिपय मान्छेहरू पैसामा पनि खेतबारीमा काम गर्न हिँड्थे। बिहान १० बजेदेखि बेलुकासम्म ५ बजेसम्म काम गर्दा ३ सुका ज्याला पाउँथे। मैले अहिले पनि राखेको छु, त्यो बेलामा लेखेको कापीहरू। ३ सुकामा खाजा-नास्ता गरेर मान्छेहरूले काम गर्थे। नत्र धेरैजसो अर्म-पर्ममा नै काम गरिन्थ्यो। 

पञ्जावीले गाडी चलाउँथे
मैले बाराको कलैया मालपोतमा जागिर खान जाँदा काठमाडौंबाट बस लाग्थ्यो। त्यतिबेला नेपालीले गाडी चलाउँदैन थिए। लामो-लामो दारी पालेका पञ्जावीले लोकभक्त ट्राभल्स चलाउँथे। काठमाडौंको नागको थान (धरहरा)बाट उनीहरू नौ घुम्तीको बाटो हुँदै वीरगन्जसम्म लैजान्थे। मैले त्यही बसमा चढेर त्यही ८/१० रुपैया जति तिरेर बिरगन्ज पुगेको छु। गाडी भाँडा पनि खासै महँगो थिएन। 

बस चढेर बिरगन्ज पुगेपछि अब बारा कता हो कता, पहिलोपटक गएको हुनाले अलमल्ल परियो। अनि आफू गएको गाडीको ड्राइभरलाई सोधें, बारा जाने गाडी कता पाइन्छ भनेर। एउटा गाडी हिँड्न ठिक परिरहेको थियो, उनले त्यही देखाइदिए। त्यसैमा चढेर बाराको कलैया पुगेँ। 

२५ सालतिर काठमाडौंमा बस चढ्दाको पैसा निकै सस्तो थियो। यो मंगलबजारबाट बस चढेर काठमाडौं जाँदा १०/२० पैसा भाडा लाग्थ्यो। तर पनि त्यतिबेलामा मान्छेहरू गाडी भन्दा पनि हिँडेरै पार गर्थे।  

भदौ १२, २०८१ बिहीबार १९:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।