नाडा अटो शो तेस्रो दिन : कोरियन राजदूत घुम्न आए, विद्धुतिय कारप्रति आगन्तुकको आकर्षण
काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बिहीबार कोरिया गणतन्त्रका नेपालका लागि राजदूत पार्क ताए-योङ सहभागी भए। उनले अटो शोमा निकै ध्यान दिएर स्टलहरू अवलोकन गरेका थिए।
उनी हुन्डाई स्टलमा गएर त्यहाँ रहेका गाडीहरूको अवलोकन गरेका थिए। उनले बढो चाख दिएर विद्धुतिय गाडीहरूको फिचर्सहरुबारे जानकारी लिएका थिए।
तेस्रो दिन पनि गाडीका पारखीहरूको सङ्ख्या बढिरहेको छ। विभिन्न अटोका डिलरहरूले ग्राहकहरूलाई आकर्षित गर्न गाडीको नयाँ मोडल सार्वजनिक गर्नेदेखि लिएर छुटहरूको सुविधाहरू समेत घोषणा गरिरहेका छन्। प्रदर्शनीमा २४ ब्रान्डका चार पाङ्ग्रे, १९ ब्रान्डका दुई पाङ्ग्रे र १२ ब्रान्डका हलुका गाडी राखिएको छ।
नाडा अटो शोमै नेपालका लागि टाटा मोर्टर्सको आधिकारिक वितरण सिप्रिदी टेडिङ्गले ‘टाटा पञ्च इभि’ सार्वजनिक गरेको थियो। यो तीन वटा भेरियण्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ। पन्च ईभी इमपावर्ड प्लस एस एमआर, पन्च ईभी इमपावर्ड एलआर र पन्च ईभी इमपावर्ड प्लस एसएलआर गरी तीन वटा भेरियण्टमा उपलब्ध हुने कम्पनीले जानकारी दियो।
पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार निर्धारण गरिएको कम्पनी जनाएको छ।
कम्पनीले नाडा अटो शोमा टाटा पञ्च इभी बुक गर्दा वारेन्टी अवधिमा पूर्ण रूपमा निःशुल्क सर्भिस दिने घोषणा समेत गरेको।
सिजी ग्रुपले नाडामा नयाँ ब्रान्ड एक्सपेङ, रेडारा, अवतार राखेको छ। नेटा, जीएमसी एवोन र किंलङ्ग माइक्रोबस समेत स्टलमा देख्न सकिन्छ। पेट्रोलियममा सुजुकी र दुईपाङ्ग्रेमा हिरो बाइक समेत राखेको छ।
सिजी मोटर्सले नाडा अटोको मौका छोपेर नयाँ ईभी ब्रान्ड एक्सपेङको जी–६ समेत सार्वजनिक गर्यो। प्रिमियम एसयूभीमा आएको एक्सपेङ जी–६, ६६ किलोवाट ब्याट्री क्षमतामा २१८ किलोवाट पावर मोटरमा आएको छ। सिङ्गल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको यस कारको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
प्रिमियम ईभी सेग्मेन्टमा अवतार–११ समावेश छ। ९०.३८ किलोवाट ब्याट्री क्षमता र २३० किलोवाट पावरफूल क्षमतामा उपलब्ध कारको मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ। सीजीले ६३ किलोवाटआवर ब्याट्री र २०० किलोवाट पावर पिक पावरसहित रेडारा ईभी पिकअप समेत सार्वजनिक गरेको छ।
स्काइवेल नेपाल ल्याएको जी मोटर्सले नाडा अटो शोमा थप दुई नयाँ गाडी सार्वजनिक गर्यो। उसले अटो शोमा स्काइवेलको ई–११ ईभीको दुइटा भेरिएन्ट सार्वजनिक गर्यो। यो गाडी ४ सय १० र ५ सय २० किलोमिटर रेन्जका हुन्। कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री रहेको कम्पनीले जानकारी दिएको छ।
नाडा अटो शोमै चिनियाँ नयाँ ईभी ब्रान्ड नामी समेत नेपाल भित्रियो। एमएडब्लू वृद्धिले ल्याएको सो ब्रान्डमा नामी ई–१, ई–२ र ई–३ गरी तीन वटा भेरियन्ट रहेका छन्। गाडीको मूल्य क्रमशः २९ लाख ९९ हजार, ३१ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
नाडा अटो शोमा काइवीको ह्याचब्याक सेग्मेन्टका दुई वटा मोडल काइवी ईक्यु ०२ र ईक्यु ०४ सार्वजनिक भएको छ। ४० किलोवाट मोटर क्षमताको यी मोडलको मूल्य क्रमशः २३ लाख ९६ हजार रुपैयाँ र २५ लाख ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ।
महिन्द्रा गाडीको नेपालको आधिकारिक वितरक अग्नि मोटर्सले महिन्द्रा एक्सयूभी ४०० ईभी ल्यायो। यस सेग्मेन्टमा ३४.५ र ३९.४ किलोवाट आवर ब्याट्री क्षमतामा ३९.४ किलोवाट पावर मोटर जडान छ। यी दुई भेरियन्टले सिङ्गल चार्जमा ३५९ देखि ४५६ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जानकारी दिएको छ।
नाडा अटो शोमा सीजी मोटोकर्पले एपिक न्यू स्वीफ्ट सार्वजनिक गर्यो। पाँच भेरियन्ट रहेको यसको नयाँ स्वीफ्टको मूल्य ३८ लाख ९९ हजारदेखि ४६ लाख ७९ हजार रुपैयाँसम्म तोकिएको छ। नाडामा नयाँ स्वीफ्ट बुकिङ गरेमा १ हजार लिटर पेट्रोल निःशुल्क, पेट्रोल लिन नचाहेमा थप १ लाख ६० हजार रुपैयाँ नगद दिने कम्पनीले जनाएको छ। सर्भिसिङ निशुल्क लगायतका अन्य अफरहरु समेत रहेको छ। अन्य कम्पनी इलेक्ट्रोनिक गाडीमा केन्द्रित हुँदा यसले भने डिजेल/पेट्रोलकै गाडीको व्यवसायमा केन्द्रित छ।
दुई पाङग्रेमा यामाहाले 'यामाहा डब्लुआर १५५ आर अफ-रोड एडभेन्चर सेगमेन्ट सार्वजनिक गर्यो। १५५ सिसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
बजाज मोटरसाइकलको अहिलेसम्मकै सबैभन्दा ठुलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गर्यो। बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सिसीको सिङ्गल-सिलिन्डर, लिक्विड-कोल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ।
गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एन्ड कम्पनीले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पिड ४०० र स्क्र्याम्बलर ४०० एक्स मोडेलहरू सार्वजनिक गरेको थियो।
भदौ १३, २०८१ बिहीबार १७:१८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।