फिल्म ‘वर एण्ड वधु’ हलमा नलागी प्रिमियरबाटै आफू सफल भइसकेको ठानिन् आँचलले
काठमाडौं : बुधबार फिल्म ‘वर एण्ड वधु’को ललितपुरको लबिङ मलमा ग्राण्ड प्रिमियर देखियो। रोडबाट नै फिल्म रेडकार्पेटमा फूलका गुच्छा बिच्छाइएको थियो। हल प्रवेश गर्दा पनि उस्तै झकिझकाउ थियो। दुई वटा हल भरिभराउ दर्शक र फिल्म हेरिरहँदा फिल्मका मुख्य कलाकार आँचल शर्मा र विवेक कर्मचार्यको हुटिङ चलिरहेको थियो।
हल नम्बर २ को अघिल्ला सिटमा बसेका यि दुवैजना खुसुखुसु गफ गरिरहेका हुन्थे। पछाडि हुटिङ चल्थ्यो, उनीहरू एकआपसमा गफिन्थे।
फिल्म सकिएपछि बाहिर आएका अधिकांश कलाकारले उनीहरुको अभिनयको तारिफ गरेपछि आँचल र विवेक निकै उत्साहित भए। आँचलको अनुहार निकै उज्यालो देखिन्थ्यो। फिल्ममा उनी थापाकी छोरी भएर अभिनय गरेकी छन्। अलिक घमण्डले भरिएको टीका नारायण महालक्ष्मी थापाको भुमिका निवार्ह गरेकी आँचलले प्रिमियरको प्रशंसाबाट आफू सफल भएको बताइन्।
उनले हलमा फिल्म नै नलागी प्रिमियरमा आएका सेलिब्रेटीको प्रशंसाले आफूलाई सफल भइसकेको ठानिन्।
पत्रकारसँगको कुराकानीमा आँचलले भनिन्, ‘सबै जनाले एकदमै रुचाइदिनुभयो टीकालाई। फिल्मको त्यो टीकाको घमण्डलाई रुचाइदिनु भएको भएर पनि टीका सफल भएको हो की। यस्तो घमण्डीलाई पनि माया गर्देकोमा धेरै धेरै धन्यवाद।’
आँचल बोल्दैगर्दा उनकै छेउमा रहेका नव अभिनेता विवेक कर्मचार्यको अनुहारमा उस्तै चमक थियो। उनी मुस्कुराइरहे।
हलमा उपस्थित भएका अधिकांश सेलिब्रेटीले फिल्म कस्तो लाग्यो भन्दा प्रिमियरमा राम्रै भन्ने गरेका छन्। हरेक फिल्मको प्रिमियरमा सेलिब्रेटीले झुर फिल्म भनेको सुनिएकै छैन। हिजोको प्रिमियरमा पनि फिल्म ‘वर एण्ड वधु’लाई अधिकांशले राम्रै बनेको भन्दै कलाकारको प्रशंसा गरे। राम्रै प्रतिक्रिया दिए।
सेलिब्रेटीबाट पाइरहेको यो धन्यवाद भोलीबाट हलका दर्शकबाट पाउँछन् कि पाउँदैनन्, हेर्न बाँकी छ।
भदौ १२, २०८१ बिहीबार १६:३०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।