निरन्तर ओरालो लाग्दै नेप्से, आज ३६.८३ अंकले घट्यो
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३६ दशमलव ८३ अङ्कले घटेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ।
४ दिन कारोबार भएको यो साताको पहिलो दिन आइतबार ८० अंकले बजार घटेको थियो। सोमबार सार्वजनिक बिदा भएका कारण कारोबार भएन। मंगलबार पुनः ११२ अंकले घट्दै परिसूचक २७८२ बिन्दुमा ओर्लिएको थियो। बुधबार अन्तिम समयमा बजारमा ३.८० अंकको वृद्धि देखियो।
आज कारोबार भएका कूल १३ उप-समूहमध्ये आज १२ उप-समूहको शेयर मूल्यमा गिरावट आउँदा एक उप-समूहको मात्रै उकालो लागेको छ।
कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ। कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
रसुवागढी हाइड्रोपावर नौ दशमलव ९९, मिड सोलु हाइड्रोपावर आठ दशमलव ४८, मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ६२ प्रतिशतले कमाएका छन्।
यस्तै, थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर पाँच दशमलव शुन्य आठ, तारागाउँ रिजेन्सी होटल चार दशमलव ९९ र नाडेप लघुवित्तका लगानीकर्ताले चार दशमलव ७८ प्रतिशतले गुमाए।
भदौ १३, २०८१ बिहीबार १६:००:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।