योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको गम्भीर आरोप

योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको गम्भीर आरोप

काठमाडौं : माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर जस्तो हिंसात्मक गतिविधि गरेका आरोप लगाएका छन्। 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सचिव भट्टराई आफैं हिंसा गर्ने नाइके भएर जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी भएको बताए। 

उनले भने, ‘२००७ साल, २०२८ सालको विद्रोह, ०५२ सालको सशस्त्र जनयुद्ध सबै एकात्मक शासन प्रणालीविरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज हुन्। जो जनमुक्ति र वर्ग मुक्तिको संघर्षको बिगुल फुक्ने आँट प्रचण्डसहित सबै नेताहरूमा सम्मान छ। तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी हो।’

त्यसअघि बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले सचिव भट्टराईले माओवादीले भन्ने गरेको जनयुद्धलाई 'हिंसा' भनेका थिए। 

भट्टराईले माओवादीको १० वर्षे हिंसात्मक द्वन्द्व नभएको भए लोडसेडिङ अन्त्यका लागि ०७५ साल कुर्नु नपर्ने भनेका थिए। तर, माओवादी सांसदहरूले त्यसलाई नियमापत्ति गर्दै रेकर्डबाट माग गरेपछि सभामुख देवराज घिमिरेले त्यस शब्दबारे छानबिन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए।  

भदौ १२, २०८१ बिहीबार १५:४१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।