रविलाई गगनको जबाफ : ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टा बयान दिनुपर्ने अवस्था प्रमाण भएकाले आएको होइन?

रविलाई गगनको जबाफ : ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टा बयान दिनुपर्ने अवस्था प्रमाण भएकाले आएको होइन?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीको आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई संसदीय छानबिन समितिको फैसला कुरेर बस्न सुझाएका छन्।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले आफू पनि तथ्य र प्रमाणका धारमा फैसला आउने भन्दै कुरेर बसेको र रास्वपालाई फैसला कुरेर बस्न आग्रह गरे। 

‘फैसला त आउनै बाँकी छ। त्यसैले म त फैसला कुरेर बसेको छु। तथ्य प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिरहेको छु’, उनले भने, ‘त्यसैले दिन गनौं, राम्रोसँग गनौं। औँला भाँचेर गनौं, लेखेर गनौं। फैसला आउने दिन गनौं।’

प्रमाण खोइ भनेर प्रश्न गर्नेहरूलाई उनले आफूले प्रमाण संसदीय समितिलाई बुझाएको बताए। 

उनले भने, ‘हामीसँग भएको तथ्य प्रमाण पुगेन होला समितिमा? हाम्रा साथीहरूले बोकेर जानुभएको छैन होला? यसो ख्याल गर्नुभएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला।’

आफूलाई समितिमाथि पूर्ण विश्वास रहेको भन्दै गगनले थपे, ‘बरू रास्वपाका साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ’, उनले अगाडि भने, ‘बयान हो, बयान। सफाइ होइन।’

भदौ १२, २०८१ बिहीबार १५:११:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।