योगेशमाथि माओवादी सांसदको आक्रोश- ‘हतियार तस्कर गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्ने?’

योगेशमाथि माओवादी सांसदको आक्रोश- ‘हतियार तस्कर गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्ने?’

काठमाडौं : बिहीबारको प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसदहरूले एमाले सांसद योगेश भट्टराईमाथि आक्रोश व्यक्त गरेका छन्।

बुधबार प्रतिनिधि सभामा १० वर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’ भनेपछि बैठकमा हंगामा नै भएको थियो। बैठकमा उठेर माओवादी सांसदहरूले उनको अभिव्यक्त संसदको रेकर्डबाट हटाउन माग गरेको थियो।

सोही विषयमा आज पनि माओवादी सांसदहरू एमाले सांसद भट्टराईमाथि खनिएका छन्। उनीहरूले भट्टराईले ‘जनयुद्ध’को नाममा चन्दा उठाएर हतियार तस्करी गरेको गम्भीर आरोप लगाएका हुन्।

यसका अलावा उनीहरूले पर्यटन मन्त्री हुँदा नारायणहिटीभित्रको जग्गा बतास समूहलाई दिन रचेको प्रपन्चको बारेमा समेत स्मरण गराएका छन्।

माओवादी केन्द्रका सांसद छिरिङ डम्डु लामा भोटेले युद्धकै नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने नाइकेले ‘जनयुद्ध’लाई हिंसा भन्नु गैरजिम्मेवार भएको बताए।

उनले भने, ‘जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने अनि हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो।’

यस्तै, माओवादी केन्द्रकी सांसद छिरिङ ल्याहू लामा तामाङले एमाले सांसद भट्टराईले संसदको सामान्य मान समेत नराखी माओवादीको अपमान गर्ने अभिव्यक्ति दिएको बताइन्।

‘एमाले सांसदले संसद्को सामान्य मान पनि नराखी व्यवस्था निर्माण गर्न जनयुद्ध लडेको माओवादीलाई अपमान गर्ने मनसायले अभिव्यक्ति दिनुभयो,’ उनले भनिन्, ‘माननीयको त्यस्तो किसिमको अभिव्यक्ति र रवैयाले देशलाई अर्को द्वन्द्वको चपेटा लाने भित्री मनसाय प्रकट भएको होकि भन्ने गम्भीर आशंका पैदा भएको छ।’

साथै उनले भट्टराईको कन्ट्रोभर्सीहरू पनि याद दिलाउँदै हतियार खरिदबिक्री र ओसारपसारमा गरेको आरोपमा उचित छानबिन गर्नुपर्ने माग समेत राखिन्।

‘उहाँ मन्त्री हुँदा आएको नारायणहिटीको बतास काण्ड होस् वा एक माननीयले केही समय पहिला सञ्चार माध्यममा उहाँलाई जनयुद्धकालमा हतियार खरिदबिक्री र ओसारपसारमा लागेको आरोप लगाउनुभएको छ,’ उनले थपिन्, ‘यसबारे उचित छानबिनका लागि सदनको गम्भीर ध्यानाकर्षण गराउँछु।’

पूर्व पर्यटनमन्त्री प्रेम आलेले ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्तामा भट्टराईमाथि हतियार तस्करीको गम्भीर आरोप लगाएका थिए।

उनले अन्तर्वार्तामा भनेका थिए, ‘जतिबेला माओवादी युद्ध चर्किएको थियो। माओवादी साथीहरू भूमिगत हुनुहुन्थ्यो। सेना र माओवादीको बीचमा वार भइरहेको थियो। उहाँ (योगेश भट्टराई)खरखजानासहित २ नम्बरी गर्नुहुन्थ्यो।’

भट्टराईले तातोपानी नाकाबाट हतियार तस्करी गर्ने गरेको भन्दै सोही रकमले काठमाडौंमा घर बनाएको समेत आरोप लगाएका थिए।

‘उहाँ ताप्लेजुङबाट लुरुलुरु काठमाडौं आएको त हो नि! त्यही खरखजाना बेचेर काठमाडौंमा घर बनाउनुभएको छ। त्यो पनि सोध्नु होला,’ आलेले टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, ‘उहाँ त हतियार खरखजानाको तस्करी गर्नुहुन्थ्यो।’

भदौ १२, २०८१ बिहीबार १४:२३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।