पढाइका कुरा : प्राविधिक विषयतर्फ बढ्दो आकर्षणले ह्वात्तै घटे इतिहास, संस्कृति र भूगोलका विद्यार्थी

पढाइका कुरा : प्राविधिक विषयतर्फ बढ्दो आकर्षणले ह्वात्तै घटे इतिहास, संस्कृति र भूगोलका विद्यार्थी

बुटवल : एक दशकअघि बुटवलको बुटवल बहुमुखी क्याम्पसमा स्नातक तहमा इतिहास पढ्ने विद्यार्थीको संख्या थेगिनसक्नु थियो। एउटै कक्षामा ५० जना विद्यार्थीहरू राखेर पढाइन्थ्यो। ०५८ सालसम्म आईएमा तीन सेक्सन थियो। त्यो बेला अंग्रेजी विषय लिने विद्यार्थीले समेत इतिहास लिएर पढ्थे।

तर, अहिले ठिक उल्टो भएको छ। इतिहास विद्यार्थी नगन्य छन्। बुटवल बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख दुर्गा भुसालले पछिल्लो समय इतिहास, संस्कृति, भूगोलतर्फ विद्यार्थीहरू घट्दै गएको बताए। अहिले विद्यार्थीहरूको आर्कषण बजारमा सिधै जागिरसँग जोडिने विषयहरूमा भएको उनको भनाइ छ।

‘अहिलेका विद्यार्थीहरूको सोचाइ फरक भयो। छिटो आर्थिक उपार्जनका लागि प्राविधिक शिक्षा पढ्नुपर्छ भन्ने बुझ्न थाले। उनीहरूले शिक्षालाई अन्तर्राष्ट्रिय बजारसँग तुलना गरे। त्यसैले पनि ज्ञान बर्द्धक भनिएका इतिहास, संस्कृति र भूगोल विषयमा विद्यार्थी कम भए’, क्याम्पस प्रमुख भुसालले भने।

इतिहास, भूगोल, संस्कृति पढेका विद्यार्थीहरूले सिधा योग्यताको प्रतिस्पर्धा गर्ने बजार नभएकाले पनि यसतर्फ विद्यार्थीको आकर्षण नभएको उनको भनाइ छ।

‘इतिहासको मुहानै सुक्यो’
अहिले स्नातकमा इतिहास पढ्न जम्मा सात जना विद्यार्थी भर्ना भएका छन्। इतिहास नबुझी राष्ट्र बुझ्न नसकिने भए पनि राज्यको नीतिकै कारण अहिले यो विषयमा विद्यार्थीको आकर्षण नभएको इतिहासका प्राध्यापक डा. सूर्यबहादुर जि.सी बताउँछन्।

‘इतिहास, संस्कृति, भुगोल पढ्ने विद्यार्थीको मुल स्रोत भनेकै कक्षा ११ र १२ हो,’ उनले भने, ‘तर अहिले कक्षा ११ र १२ मा यी विषय पढाइ नै हुँदैनन्। मुल नै सुकेपछि खोला सुक्नु स्वभाविक हो।’

क्याम्पसमा स्नातक तह पहिलो वर्षमा १ जना मात्र विद्यार्थी छिन्। भारतमा पढेर आएकी दिपाली क्षेत्री पहिलो वर्षकी एक मात्र इतिहासकी विद्यार्थी हुन्। दोस्रो समेष्टरमा विद्यार्थी नै छैनन्। तेस्रो सेमेष्टरमा दुई जना र चौथो सेमेष्टरमा तीन जनाले परीक्षा दिए।

इतिहास, संस्कृति, भूगोल ज्ञानका लागि पढिने ज्ञानबर्द्धक विषय हुन्। ज्ञानलाई भन्दा पैसालाई बढी प्राथमिकता दिएर व्यावसायिक र प्राविधिक विषय बढ्दा यी विषयहरू लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका जानकारहरू बताउँछन्।

इतिहास नजान्दा समाज बिग्रन्छ। यो गम्भीर विषय भए पनि राज्यका निकायहरूले शिक्षामा नाफा घाटाको व्यापारिकरण गर्दा लोप हुने अवस्थामा पुगेको प्रा.डा जिसीले बताए।

‘शिक्षामा व्यापारिकरण हुँदा राज्यको निकाय चुपचाप छ,’ उनले अगाडि भने, ‘राज्य इतिहास, भुगोल र संस्कृति विषयमा लगानी गर्न चाँहदैन। निजी क्षेत्र जहाँ लगानी गर्दा मुनाफा आउँछ, त्यहि लगानी गर्दछन्। उनीहरूबाट आश पनि छैन।’

वि.सं. ०६१ सालमा सरकारले आईए हटाएर पूर्ण रूपमा दश जोड दुई लागू गरेपछि इतिहास, संस्कृति पढ्ने विद्यार्थीहरू घट्दै गएको जिसीको बुझाइ छ। यस्ता विषयमा विद्यार्थी घट्दा केही वर्षमा शिक्षक समेत अभाव हुने उनको चिन्ता छ।

‘प्रमाणपत्र तह फेजआउट हुनु अघिसम्म यो अवस्था थिएन,’ उनले थपे, ‘मुहान नै सुक्न पाएको थिएन।’

स्कुल शिक्षा र विश्वविद्यालयको शिक्षा नमिल्दा पनि विद्यार्थीले बाटो बदलेका उनको अनुभव छ।

‘कुनै समयमा विद्यालय तहमा अनिवार्य र प्रमाणपत्र तहमा पनि इतिहास पढाइ हुन्थ्यो,’ उनले अगाडि थपे, ‘त्यसैले स्नातकमा इतिहास पढ्ने विद्यार्थीहरू बढी हुन्थे। सरकारले आईए हटाएर दश जोड दुई लागू गरेपछि विद्यार्थी घट्दै गएका हुन्।’

विकसित देशमा प्रारम्भिक तहमै इतिहासलाई अनिवार्य गरे पनि नेपालमा भने राज्यका निकायहरू इतिहास विषय पढाउन आवश्यक नै नठाउने इतिहास विभागका प्रमुख समेत रहेका प्रा.डा. केसी बताउँछन्।

बुटवल बहुमुखी क्याम्पसमा इतिहास विषयको लागि दुई जना प्राध्यापक छन्। त्यसैगरी संस्कृति विषयमा एक जना करारका शिक्षक छन्।

संस्कृति विषयको हालत झन् बेहाल
क्याम्पसमा संस्कृति विषयतर्फ विद्यार्थी शून्य छन्। चार वटै सेमेष्टरमा एक जना पनि विद्यार्थी छैनन्।

‘चार वर्षदेखि संस्कृति विषयमा विद्यार्थी शून्य छ। रजिष्टरमा २/३ जना भए पनि उनीहरू आउँदैनन्,’ प्रा.डा. जिसीले भने, ‘विद्यार्थी टिकाउन र विषय जोगाउन व्यक्तिगत प्रयास सार्थक हुँदैन। त्यसका लागि राज्यको नीतिले डोर्याउनुपर्छ। तर, राज्य निकम्मा जस्तै हुँदा इतिहास, संस्कृति र भुगोलका विद्यार्थी देशभर शून्यजस्तै भएका हुन्।’

विद्यार्थी टिकाउन छ वर्षअघि पूर्ण छात्रवृत्ति दिँदै निःशुल्क भर्ना र अध्ययनको बन्दोबस्त मिलाए पनि दोस्रो सेमेष्टरबाट भर्ना भएका चार विद्यार्थी पढ्नै नआएको प्रा.डा. जिसीको अनुभव छ। विषयलाई रुचीकर बनाउने मात्र नभएर आयसँगै जोड्ने पाठ्यक्रम भए विद्यार्थीको आकर्षण बढ्ने उनको सुझाव छ।

निमित्त क्याम्पस प्रमुख भुसाल बढ्दो प्रविधिको विकासका कारण विद्यार्थीहरूमा महत्वकांक्षा बढ्दा पनि यस्ता विषयमा काम चासो भएको अनुभव गर्छन्।

उनले भनिन्, ‘विद्यार्थीको भावना बदलिएको छ। उनीहरूले पढाइलाई रोजगारसँग जोडेर नाफा/नोक्सान हेर्न थाले। त्यसैले प्राविधिक विषयहरूमा उनीहरूको आकर्षण बढेको हो।’

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा इतिहासका विद्यार्थी शून्य छन्। पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा संस्कृति पढ्ने विद्यार्थीहरू नगन्य छन्।

भूगोलमा केही तै बिसेक 
इतिहास र संस्कृतिको तुलनामा भूगोलका विद्यार्थी केही बढी छन्। चार वर्षे भूगोलको कोर्समा बुटवल क्याम्पसमा अहिले ३० जना विद्यार्थी छन्।

पहिलो वर्षमा आठ, दोस्रोमा छ, तेस्रोमा चार र चौथोमा १२ जना विद्यार्थीले क्याम्पसमा भूगोल अध्ययन गरिरहेको क्याम्पस प्रमुख भुसालले बताए।

अमिन पढ्नेहरूले अध्ययन गर्दा भूगोलमा केही विद्यार्थीहरू रहेको उनको भनाइ छ। रुपन्देहीको फर्साटिकरमा रहेको योग्यदय क्याम्पसमा पनि भूगोल अध्ययन हुने भएकाले क्याम्पस धानिएको उनले बताए।

अन्य क्याम्पसमा पनि नगन्य विद्यार्थी
लुम्बिनी प्रदेशमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक क्याम्पस बुटवल बहुमुखी क्याम्पस बाहेक भैरहवा, नेपालगञ्ज, पाल्पा र दाङमा इतिहास, संस्कृति र भूगोल अध्ययन हुने गर्छ।

महेन्द्र बहुमुखी क्याम्पस, घोराही-१५ का क्याम्पस प्रमुख भरतराज न्यौपानेका अनुसार क्याम्पसमा संस्कृति विषयमा विद्यार्थी शून्य हुँदा भूगोलमा ३० जना विद्यार्थी छन्। संस्कृतिमा विद्यार्थी शून्य भएको चार वर्ष पूरा भएको उनको भनाइ छ।

‘संस्कृति पढ्ने शून्य छन्। भूगोलमा अमिनहरू पढ्ने भएकाले केही विद्यार्थी छन्। समग्रमा भन्ने हो भने मानविकी पढ्ने विद्यार्थीहरू निरन्तर कम हुँदै गएका छन्’, उनले भने।

उनले इतिहास, भुगोल र संस्कृति स्नातकमा पढेपछि बजारमा सजिलै बिक्ने ठाउँ नहुँदा आर्कषण घटेको दोहोर्याए। 

‘नयाँ विषयहरू आर्थिक उपार्जनसँग जोडिए पनि पुरानाले त्यसलाई ध्यान दिन सकेनन्, जसको प्रभाव पुराना विषयमा विद्यार्थीको आकर्षण भएन’, उनले भने।

भैरहवा बहुमुखी क्याम्पसमा अहिले इतिहासका विद्यार्थी छैनन् भने पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा पनि इतिहास र संस्कृतिका विद्यार्थी नगन्य छन्। भित्रुवन क्याम्पसमा भूगोलतर्फ भने २० जना विद्यार्थी छन्।

भदौ १३, २०८१ बिहीबार १२:४८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।