गण्डकी गाउँपालिकाका किसानमा क्यान्सर लाग्नुको कारण खोज्न कृषीमन्त्रीले बनाए समिति

गण्डकी गाउँपालिकाका किसानमा क्यान्सर लाग्नुको कारण खोज्न कृषीमन्त्रीले बनाए समिति

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्य समिति गठन गरेका छन्।

गण्डकी गाउँपालिकाका केही वडामा तरकारी खेतीमा अधिक विषादी प्रयोग गर्दा क्यान्सर रोगी किसान बढेको सार्वजनिक भएपछि मन्त्री अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका हुन्।
   
गण्डकी गाउँपालिकाका ६१ तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको सार्वजनिक भएको थियो।  यसको कारण खेतीमा प्रयोग हुने अधिक विषादी रहेको दाबी सार्वजनिक भएपछि मन्त्रीस्तरीय निर्णयबाट प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पोख्रेलको संयोजकत्वमा कार्यदल गठन गरिइएको हो।
   
कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन्।
   
'गण्डकी गाउँपालिका, गोरखामा देखिएको विषादी दुरुपयोगसम्बन्धी समस्याबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न २०८१ भदौ ११ गते बसेको आकस्मिक बैठकको निर्णयअनुसार पाँच सदस्यीय कार्यदल गठन गरिएको छ' निर्णयमा भनिएको छ। 

सो समितिलाई प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेश गर्न भनिएको छ।

भदौ १२, २०८१ बिहीबार १२:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।