वेस्ट इन्डिजका फास्ट बलर गेब्रियलद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
एजेन्सी : वेस्ट इन्डिजका फास्ट बलर श्यानन गेब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
२०१२ मा आफ्नो करियर सुरु गरेका गेब्रियलले वेस्ट इन्डिजको प्रतिनिधित्व गर्दै ५९ टेस्ट, २५ एकदिवसीय र दुई टी-२० मा खेलेका थिए।
यस अवधिमा उनको नाममा २०२ अन्तर्राष्ट्रिय विकेट छन्।
गेब्रियलले बुधबार आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत आफ्नो सन्यासको जानकारी दिएका हुन्।
उनले भने, ‘मैले विगत १२ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई समर्पण गरेको छु र यस अवधिमा क्रिकेटको उच्च स्तरमा खेल्नु मेरो लागि उत्कृष्ट अनुभव रह्यो। मेरो मनपर्ने खेलमा वेस्ट इन्डिजको प्रतिनिधित्व गर्न पाउँदा मलाई निकै खुशी लागेको छ। तर, जसरी सबै कुराको अन्त्य हुन्छ, त्यसरी नै आज म पनि आफ्नो अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिइरहेको छु।’
वेस्ट इन्डिजका लागि चौथो उत्कृष्ट प्रदर्शन गरेका उनले श्रीलंकाविरुद्ध घरेलु मैदानमा भएको टेष्टमा १२१ रन दिएर १३ विकेट लिएका थिए। उनले यो उपलब्धि जुन २०१८ मा पूरा गरेका थिए।
उनको गति र उछाल यस्तो थियो कि प्रसिद्ध वेस्ट इन्डिज फास्ट बलर कोर्टनी वाल्शले उनलाई प्याट्रिक प्याटरसन र इयान बिशपसँग तुलना गरेका थिए।
सन् २०१९ मा इंग्ल्याण्डका खेलाडी जो रुटविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि गेब्रियलाई आईसीसीले चार एकदिवसीय खेलमा प्रतिबन्ध लगाएको थियो। पछि उनले रुटसँग माफीसमेत मागेका थिए।
गेब्रियलले अन्तिम पटक जुलाई २०२३ मा वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका थिए। त्यसपछि भने उनी ट्रिनिडाड र टोबागोबाट खेल्दै घरेलु क्रिकेटमा सक्रिय छन्। गत वर्ष उनी अबु धाबी टी-१० मा समेत खेलेका थिए।
भदौ १२, २०८१ बिहीबार १०:११:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।