मंगलबार स्थगित एन्फा केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

मंगलबार स्थगित एन्फा केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं : मंगलबार स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमिति बैठक आज पुन: बस्दैछ।

बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहान १० बजेदेखि बस्दैछ। आज बस्ने बैठकले बाँकी नौ वटा बुँदामा छलफल गर्ने एक्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

विविधसहित २३ एजेण्डामा छलफल गर्न बसेको बैठकले मंगलबार १४ वटा बुँदामा छलफल गरेको थियो। जसमा नेपाली राष्ट्रिय फुटबल टोलीका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो।

अध्यक्ष पंकज नेम्वाङले प्रस्तावमा महासचिव किरण राईको तलब दुई हजार अमेरिकी डलर पुर्याउने निर्णय समेत बैठकले गरेको थियो। यद्यपि यो निर्णय सर्वसम्मतिले पारित भने भएन। खेलाडीको तलब मासिक ३० हजार बनाउने निर्णय भने सर्वसम्मतिले पारित भएको थियो।

यस्तै बैठकले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घाँसे मैदान हटाएर तीन लाख अमेरिकी डलरमा कृत्रिम घाँस राख्न राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्ताव गर्ने निर्णय गरेको थियो।

त्यस्तै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा रहेको टर्फ नयाँ राखेर त्यहाँ भएको पुरानो टर्फलाई लगनखेलस्थित बुद्धिविकास खेल मैदानमा सारिने निर्णय गरेको थियो।

यसका अलावा एन्फाले गोदावरीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय फुटबल मैदान, कैलाली, सर्लाही लगायत अन्य स्थानमा पनि कृत्रिम घाँसे मैदान निर्माणका लागि बजेट छुट्याउने निर्णय गरेको थियो।

भदौ १२, २०८१ बिहीबार ०९:४१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।