इभी करमा सरकारी छुट, व्यापारीको लुट : ३५ लाखको ‘जेको जे-सिक्स’को मूल्य ६६ लाख ९९ हजार

इभी करमा सरकारी छुट, व्यापारीको लुट : ३५ लाखको ‘जेको जे-सिक्स’को मूल्य ६६ लाख ९९ हजार

काठमाडौं : चेरीको सब ब्रान्ड ‘जेको’को ‘जे सिक्स’ नाडा अटो शोमा सार्वजनिक गर्दा मूल्य सार्वजनिक गरियो ६६ लाख ९९ हजार।

अमोडा गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नेपाल भित्र्याएको सो गाडीको मूल्य चीनमा भने १६ हजार पाँच सय अमेरिकी डलर हाराहारी देखिन्छ।

सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न भनेर कर छुट सुविधा दिँदै आएको छ। जस कारण अन्य(डिजल-पेट्रोल) इन्धनको गाडीको तुलनामा इलेक्ट्रोनिक सवारी सस्तो हुनुपर्ने हो। तर, उल्टो उच्च मूल्य लिने गरेको देखिन्छ।

बुधबार सार्वजनिक ‘जेको जे-सिक्स’को मूल्य चीनमा २२ लाख नेपाली रुपैयाँ हाराहारी देखियो।

चीनबाट नेपालमा सवारी आयात गर्ने एक अटो व्यवसायीका अनुसार चीनबाट नेपालसम्म गाडी ल्याउन कर, ढुवानी लगायतका सबै शुल्क जोड्दा अधिकतम ३० प्रतिशत रकम जोडिन सक्छ।

त्यसमा कानून अनुसार नाफा लिन पाइने २० प्रतिशत नै जोड्दा पनि कुल मूल्यमा थप ५० प्रतिशत मूल्य थपिने हो। यसरी ११ लाख २५ हजार रुपैँया थपिन्छ। त्यस अनुसार हेर्दा बुधबार सार्वजनिक ‘जेको जे-सिक्स’को मूल्य अधिकतम ३५ लाख रूपैयाँसम्म पर्ने देखिन्छ।

तर, नाडा अटो शोमा विशेष सहुलियत मूल्य घोषणा गर्दा पनि कम्पनीले ६६ लाख ९९ हजार अर्थात् ३० लाख उच्च मूल्य राखेको छ।

नेपालमा कुल लगानी रकमबाट २० प्रतिशतभन्दा बढी नाफा लिनु कालो बजारी हो। कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले ‘कुनै पनि वस्तु तथा सामानको बिक्रीमा २० प्रतिशतभन्दा बढी नाफा लिनु कालोबजारी हो’ भन्छ।

यसको आधारमा ‘जेको’को नेपाली डिलरले सिधै कालो बजारी गरेको देखिन्छ। तर, नियामक निकाय मौन देखिन्छ यो ठगीमा।

यो शारडा ग्रुपकै सहायक कम्पनी हो। यसले नेपालमा ‘अमोडा इ ५’ को बिक्री गर्ने गरेको छ, जसको मूल्य ६१ लाख राखेको छ। कर, ढुवानी अनि २० प्रतिशत नाफा जोड्दा पनि यो कारको मूल्य ३५ लाख नाघ्दैन। यसमा पनि सिधै ठगी देखिन्छ।

‘जेको जे-सिक्स’को मूल्यको आधार
चेरी र शियाओमीको सहायक कम्पनी ‘झिमी टेक्नोलोजी’ले ‘जेको’लाई ‘आइकार’ दाबी गर्ने गरेको छ। जेकोको मूल्य चीनमा एक लाख १९ हजार ८०० युआन (१६ हजार ५०० अमेरिकी डलर) देखि सुरू हुने चीनको अटोमोबाइल सम्बन्धी न्यूजपोर्टल ‘अटोहोम’ले उल्लेख गरेको छ।

अनलाइनमा लिक भएको ब्रान्डको आन्तरिक प्रमाणको आधारमा उसले ‘आइकार’ भनेर प्रचार गरिए पनि यो विदेशमा जेको/लुकानो नामबाट बिक्री हुने उल्लेख गरेको छ।

‘आइकार’को उत्पादन चेरीले सन् २०२३ मा सुरू गरेको थियो।  यसको हाल एउटा मात्र मोडल छ। तर, चेरीले विश्वव्यापी बिक्रीको लागि ‘आइकार’ नाम प्रयोग नगरी ‘जेको जे-सिक्स’ नाम प्रयोग गर्यो।

लिक भएका कागजातहरू अनुसार गाडीको रेन्ज ४०१ किलोमिटर भनिएको छ। तर, नेपाली डिलरले एक सय किलोमिटर थप बढाएर पाँच सय किलोमिटर बताएका छन्।

भदौ १३, २०८१ बिहीबार ०९:०६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।