ला-लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी
काठमाडौं : स्पेनिस ला-लिगा फुटबलमा एथ्लेटिक बिलबाओ विजयी भएको छ।
गएराति सम्पन्न खेलमा बिलबाओले भ्यालेन्सियालाई १-० गोल अन्तरले पराजित गरेको हो।
बिलबाओको जितमा पहिलो हाफको ४५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। उसका लागि बेनाट प्राडोस डियाजले ओस्कार मार्कोसको पासमा हेडर गोल गरेका थिए।
सोही गोलको अग्रता पूरै समय कायम राख्दै एथ्लेटिकले पहिलो जित निकालेको हो। भ्यालेन्सियाको भने यो लगातार तेस्रो हार हो।
ला लिगाकै अर्को खेलमा अलाभेसले रियल सोसिडाडलाई पराजित गरेको छ। अलाभेसले सोसिडाडमाथि २-१ गोल अन्तरको जित दर्ता गरेको हो।
सोसिडाड २९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो। मिकेल ओयारजाबल उगार्टे रातो कार्ड पाउँदै मैदान छाड्न पुगेका थिए।
१० खेलाडीमा समेटिएको सोसिडाडले ३२औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता भने लिएको थियो। सोसिडाडका बेरिस मेन्डिजले सर्जियो गोमेजको पासमा गोल गरेका थिए।
पहिलो हाफको अतिरिक्त पाँचौं मिनेटमा अलाभेसका एसियर विलालिब्रेले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
७७औं मिनेटमा टोनी मार्टिनेजले गोल गरेपछि अन्ततः अलाभेस २-१ को पुनरागमन जित निकाल्न सफल भयो। अलाभेसले ३ खेलबाट ४ अंक बनाएको छ भने सोसिडाडको समान तीन खेलबाट तीन अंक नै रहेको छ।
यसैगरी भालाडोलिड र लेगानेस तथा एथ्लेटिको मड्रिड र एस्पानोलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।
भदौ १२, २०८१ बिहीबार ०७:२२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।