प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ।

बैठकमा सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आ-आफ्नो धारणा राख्नेछन्। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८०’ पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा सभामुख देवराज घिमिरेले तत्कालीन संविधानसभा सदस्य श्रवण कुमार अग्रवालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

अग्रवालको गत साउन २१ गते निधन भएको थियो। उनी जनता समाजवादी पार्टी, नेपालका तर्फबाट २०६४ र २०७० सालको संविधानसभा निर्वाचनको समानुपातिक सांसद थिए।

भदौ १२, २०८१ बिहीबार ०७:१२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।