उप निर्वाचनका लागि आयोगले सङ्घीय मन्त्रालयसँग स्थानीय तहको रिक्त पदको विवरण माग्यो

उप निर्वाचनका लागि आयोगले सङ्घीय मन्त्रालयसँग स्थानीय तहको रिक्त पदको विवरण माग्यो

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण मागेको छ। उसले भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको छ।

उप निर्वाचनमा लागि मन्त्रालयले विवरण माग गरेको हो। उसले पठाएको पत्रमा जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट सोको विवरण माग भएको उल्लेख गरेको छ।
   
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ (२) बमोजिम निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ । आयोगले भदौ ५ गते मन्त्रालयलाई पत्र पठाउँदै उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहको विवरण माग गरेको थियो। 

आयोगको पत्रपछि मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गरेर रिक्त रहेका पद, विसं २०७९ मा निर्वाचित पदाधिकारीको नाम, रिक्त भएको मिति, रिक्त हुनाको कारणलगायत विवरण पठाउन भनेको छ ।    

भदौ १२, २०८१ बिहीबार ०७:०९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।