५३.५ मेगावट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजना निर्माण सुरू

५३.५ मेगावट क्षमताको अपर म्याग्दी-१ जलविद्युत आयोजना निर्माण सुरू

म्याग्दी : म्याग्दीमा ५३ दशमलव ५ मेगावट क्षमताको अपर म्याग्दी-१ जलविद्युत् आयोजना निर्माण सुरू भएको छ। 

धवलागिरि गाउँपालिका-४ छहरीमा आजदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो। 

दुई सय सात मिटर लामो अडिट सुरुङ निर्माण सकेपछि बाँध र विद्युत्गृहबाट पनि सुरुङ खनिने आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए। 

धवलागिरि गाउँपालिका-४ खाम्लामा रहने बाँधदेखि मालिका गाउँपालिका-७ भरावाङसम्म पाँच हजार सात सय मिटर लामो सुरुङ निर्माणको काम आगामी ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ। 

'बाँध, विद्युत्गृह र सुरुङ निर्माणको काम समानान्तर हिसाबले अघि बढेको छ। आयोजनाबाट विसं २०८३ फागुनसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ', उनले भने। 

 ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत्गृहको उचाइ एक सय ९६ मिटर रहेको छ। 

१२ अर्ब रूपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको प्रवर्द्धक अपर म्याग्दी जलविद्युत् कम्पनी लिमिटेड हो।

कम्पनीका कार्यकारी अध्यक्ष भानुभक्त पोखरेलले सानिमा बैंकको नेतृत्वमा विभिन्न बैंकहरूले कूल लागतको ७५ प्रतिशत लगानी रहने आयोजनामा प्रवर्द्धक र संस्थापक सेयर आह्वान गरेर २५ प्रतिशत लगानी जुटाइने बताए। 

उनले जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालिमार्फत एक हजार मेगावट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यअनुसार अपर म्याग्दी-१ बनाउन लागिएको बताए।
 
नौ किलोमिटर पहुँचमार्ग बनाएको यस आयोजनाले भारवाङ, छहरी र खाम्लामा क्याम्प राखेको छ। छहरीमा नेपाली सेनाको सुरक्षा क्याम्प राखिएको छ। रातोढुङ्गादेखि खाम्लासम्म १९ किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन बनाएर आयोजना निर्माणका लागि विद्युत् आपूर्ति गरेको छ। 

अपर म्याग्दी-१ बाट उत्पादन हुने विद्युत् मालिका गाउँपालिका-७ डाँडाखेतमा निर्माणाधीन १३२ केभी क्षमताको सवस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिनेछ। 

भदौ ११, २०८१ बुधबार २१:५५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।