बेरोजगारले रोजगारी पाएकोमा खुसी छु : श्रममन्त्री

बेरोजगारले रोजगारी पाएकोमा खुसी छु : श्रममन्त्री
फाइल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारले रोजगार पाइरहेकामा खुसी लागेको बताएका छन्। 

विराटनगरमा आयोजित दुई दिने कोशी प्रदेशस्तरीय प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रमको समापन समारोहमा आज उनले स्वरोजगार कार्यक्रमले रोजगारदाता र रोजगारी खोजी गर्नेबीच पुलको काम गर्ने र यसको माध्यमबाट दक्ष जनशक्तिलाई रोजगारमा पठाउन मद्दत पुग्ने बताए। 

मन्त्री भण्डारीले सुनसरीको दुहबी नगरपालिका, इटहरी नगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा सञ्चालित श्रम सञ्चार पोर्टलका बारेमा जानकारीसमेत लिए।

त्यसक्रममा उनले कोशी प्रदेशमा पहिलो चरणमा ४६ पालिकामा सञ्चार पोर्टल लागू गर्ने र पछि प्रदेशका एक सय ३७ वटै पालिकामा श्रम सञ्चार सुरू हुने बताए।

'यस प्रणालीबाट रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीलाई कामको अवसर मिल्ने विश्वास लिएका छौँ। यस प्रणालीलाई चुस्त र दुरुस्त राखी बढीभन्दा बढी लाभ लिने अवस्था बनाउनुहोला', उनले निर्देशन दिए। 

भदौ ११, २०८१ बुधबार २०:२३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।