धनगढी पुगेर परराष्ट्रमन्त्री आरजुले भनिन् 'विकास निर्माण एक प्रक्रिया हो, यो विस्तारै हुँदै जान्छ'

धनगढी पुगेर परराष्ट्रमन्त्री आरजुले भनिन् 'विकास निर्माण एक प्रक्रिया हो, यो विस्तारै हुँदै जान्छ'

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग कुरा उठाएको बताएकी छन्। 

गौरा पर्व मनाउन आज धनगढी पुगेकी परराष्ट्रमन्त्री राणाले आफू सधैं सुदूरपश्चिमको विकासमा लागि प्रतिबद्ध रहेको बताइन्।   

आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा यहाँको गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको उनको दाबी छ। 

मन्त्री राणाले भनिन्, ,केही वर्षमात्र अघि पनि तत्कालीन प्रधानमन्त्री श्रद्धेय शेरबहादुर देउवा भारत भ्रमण गएका बेला यो नाकाका बारेमा कुरा राख्नुभएको थियो। यो नाका हाम्रो सुदूरपश्चिम क्षेत्रकै एक लाइफलाइन नै हो। त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रा तर्फबाट यस विषयमा कुरा राखेको छु। भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव आओस् भन्ने कुरा आएको छ।'

उनले भारत भ्रममणकै क्रममा धनगढीको फाप्लुमा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि आफूले कुरा उठाएको बताइन्। 

मन्त्री राणाले बिगत लामो समयदेखि कांग्रेसको नेतृत्वको सरकारले नेपालमा विकास निर्माणका कामहरू गर्दै आएको स्मरण गर्दै स्थानीय सरकारलाई बलियो बनाउने गरी संवैधानिक व्यवस्था गर्ने, स्थानीय सरकारलाई सशक्त र सुविधासम्पन्न बनाउने एवं महिलाको प्रतिनिधित्वसहित समावेशी प्रकृतिको स्थानीय सरकार बनाउने अभियानको नेतृत्व कांग्रेसले नै गरेको जिकिर गरिन्। 

धनगढी उपमहानगरपालिकामा विकास निर्माणका कामहरू भइरहेका बताउँदै मन्त्री राणाले भनिन्, 'विकास निर्माण एक प्रक्रिया हो र यो विस्तारै हुँदै जान्छ। यस उपमहानगरमा यहाँका मेयरको नेतृत्वमा विकासका कामहरू भइरहेका छन्, मलाई खुसी लागेको छ।'    

भदौ ११, २०८१ बुधबार २०:०१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।