सडक दुर्घटनामा दैनिक सात जनाको मृत्यु हुने तथ्यांक सुनेपछि गृहमन्त्रीले भने ‘दुर्घटना एकदमै बढ्यो, यो त भएन’

सडक दुर्घटनामा दैनिक सात जनाको मृत्यु हुने तथ्यांक सुनेपछि गृहमन्त्रीले भने ‘दुर्घटना एकदमै बढ्यो, यो त भएन’

काठमाडौँ : नेपालमा सवारी दुर्घटनामा दैनिक सात जनाको ज्यान जाने गरेको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सवारी दुर्घटनाका कारण दैनिक चार जना घाइते हुने गरेका छन्।

गृहमन्त्री रमेश लेखकले बुधवार सुरक्षा निकायका प्रमुख, सडक विभागका महानिर्देशक, सडक सुरक्षा परिषद्का अध्यक्ष, राष्ट्रिय यातायात व्यवसायी महासङ्घ लगायतका प्रतिनिधिहरूसँग सडक दुर्घटनाको अवस्थाबारे छलफल गरेका थिए।

छलफल कार्यक्रममा मन्त्री लेखकले सबैले काम गरे पनि लक्षित परिणाम हासिल नभए त्यसको प्रभाव नहुने भन्दै सडक दुर्घटना घटाउन केन्द्रित हुन निर्देशन दिएका थिए।

‘दिनमा ७ जनाको मृत्यु हुन्छ। दैनिक ४ जना घाइते हुनु भएको छ। यसका पछाडि कहीँ न कहीँ कमजोरी भएको छ’ उनले भने।

उनले कार्यक्रममा सहभागी यातायात व्यवसायीहरूलाई सवारी चलाउन दक्ष चालक राख्न आग्रह गर्दै भने ‘दुर्घटना एकदमै बढ्यो। यो भएन। २–३ महिनामा दुर्घटना कम भएको देखिनुपर्छ। मलाई परिणाम चाहिन्छ’ उनले भने।

उनले विशेष गरेर चाडपर्व सुरु भए लगत्तै सवारी दुर्घटनाको सङ्ख्या पनि बढ्ने गरेको भन्दै दशै-तिहार लक्षित सडक सुरक्षा योजना बनाउन निर्देशन दिएका थिए।

घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै उनले काउन्टर खोल्ने, टिकट वितरण गर्ने र रात्रीबसमा दुई जना चालक राख्ने विषय तत्काल सुरु गर्न निर्देशन दिएका थिए।

‘आजको २० दिनपछि चाड पर्वका लागि टिकट काट्ने व्यवस्था मिलाउनुहोस्। एक दिनमा कति बस काठमाडौँ बाहिर पठाउन सकिन्छ? कसरी व्यवस्थित गर्न सकिन्छ ? चाडपर्व भरी यो कुरा गर्न जरुरी छ,’ उनले भने।

वर्षमा २३ हजार दुर्घटना

प्रहरी प्रधान कार्यालयको तथ्यां‌क हेर्ने हो भने हरेक वर्ष २३ हजार हाराहारीमा सवारी दुर्घटना हुने गरेका छन्।  आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार देशभर २३ हजार ५ सय ९७ वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनामा दुई हजार ३ सय ७६ जनाको ज्यान मृत्यु भयो। पाँच हजार ७ सय ३८ जना गम्भीर घाइते भएका थिए।

नेपालमा ६२ लाख ३८ हजार ३०१ सवारी साधन दर्ता छन्।  ट्राफिक प्रहरीको संख्या २ हजार ७ सय ७० मात्र छ। यो तथ्यां‌क अनुसार एक ट्राफिक प्रहरीले २ हजार २ सय ५२ सवारी साधन हेर्नुपर्ने अवस्था देखिन्छ। 

सबैभन्दा धेरै दुर्घटनाको कारक चालक

२०७७ मा सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले नेपालमा हुने सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गरेको थियो। सो अध्ययनको निष्कर्षमा सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको थियो।

तत्कालीन सांसद गणेशकुमार पहाडीको संयोजकत्वमा भएको अध्ययनको प्रतिवेदनमा ४३.७ प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीको कारण हुने गरेको छ। दोस्रो कारणमा सवारीको तीव्र गति थियो। यसको प्रतिशत १८.७ प्रतिशत उल्लेख छ। यी दुवै नियन्त्रण गर्न सकिने समस्या हुन्।

यसैगरि ओभरटेकका कारण ९.८ प्रतिशत, पैदलयात्रुको लापरबाहीका कारण ९.५, मापसे सवारीका कारण ६.२, यान्त्रिक गडबडी ६.१ र ओभरलोडसहितका अन्य समस्याका कारण सवारी दुर्घटना हुने गरेको उल्लेख थियो।

प्रतिवेदनमा सवारी साधनको नियमित मर्मत सम्भार र परीक्षण नगर्ने, पुराना सवारीसाधनको प्रयोग, नक्कली पाट पुर्जाको प्रयोग, अस्थायी सिट राखेर बढी यात्रु बोक्ने र सवारीसाधनको उचित आयात नीति समेत नहुनुलाई समेत सवारी दुर्घटनाको कारकको रूपमा उल्लेख छ।

भदौ ११, २०८१ बुधबार १९:२३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।