नेपालगन्जमा छाडा पशुचौपायाले सडकै छेकेर बस्दा दुर्घटनाको जोखिम बढ्यो

नेपालगन्जमा छाडा पशुचौपायाले सडकै छेकेर बस्दा दुर्घटनाको जोखिम बढ्यो

काठमाडौं : नेपालगन्जमा मुख्य सडकै छेकेर बस्ने छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ। 

सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, गाई गोरुलगायतका चौपायाले कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमनमा समस्या भइरहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। 

उपमहानगरपालिकाले छाडा चौपाया छोड्नेलाई जरिवाना तिराउने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन भएको छैन।  

नेपालगन्जको त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोक, सदरलाइन क्षेत्रमा सबैभन्दा बढी छाडा गाईगोरु भेटिने गरेका छन्। ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा पटक–पटक अवरोधसमेत हुने गरेको सदरलाइनका व्यापारी दिपानन्द गुप्ताले बताए। 

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी १२ पशुचौपायाको मृत्यु भएको थियो। तीन पशुचौपाया घाइते भएका थिए। यी दुर्घटनामा परी केही व्यक्ति घाइते भएका थिए। 

छाडा चौपायाका कारण नेपालगन्जको ट्राफिक व्यवस्थापनमासमेत समस्या हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए। नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर नेपालगन्जको छाडा चौपाया समस्या न्यूनीकरणको लागि योजनाबद्ध तरिकाले काम भइरहेको उनको भनाई छ। 

जथाभावीरुपमा पशुचौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि नेपालगञ्ज उपमहानगरले नगरमा छाडा छाडिएका पशुचौपाया व्यवस्थापन गर्न थालेको नगरप्रमुख प्रशान्त विष्टले बताए। 

नेपालगन्जमा खुला सिमानाका कारण पनि छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ।

नगरका चोकमा रहेका छाडा पशुचौपायालाई धपाउँदै काञ्जीहाउस लैजान थालिएको छ। 

यो हप्तामात्रै एक सयभन्दा बढी छाडा पशु चौपायालाई पुरैनाको विर्तास्थित काञ्जीहाउसमा राखिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए।  

भदौ ११, २०८१ बुधबार १९:१९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।