अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं : अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

बुधबार अर्थ मन्त्रालयमा आज ‘नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी (रेन) कार्यक्रम’ र प्रणाली सुदृढीकरणमार्फत लैङ्गिक र मानव विकासका परिणामहरू वृद्धि गर्न ‘सामर्थ’ कार्यक्रममा समझदारी भएको हो। 

अर्थ मन्त्रालयका अनुसार नेपालमा उत्थानशीलता, अनुकूलन र समावेशी कार्यक्रमका लागि ३८ दशमलव पाँच स्टर्लिङ पाउण्ड र सामर्थ कार्यक्रमका लागि ३८ दशमलव आठ स्टर्लिङ पाउण्ड बेलायत सरकारबाट वित्तीय अनुदान सहयोग उपलब्ध गराउने गरी सहमति भएको छ।

नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायत सरकारका तर्फबाट बेलायती राजदूतावास काठमाडौंका विकास निर्देशक तथा उपराजदूत पिप्पा बर्डले हस्ताक्षर गरे। 

जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित बनेका क्षेत्रका स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा मानव पुँजी निर्माण र सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्यका साथ दुवै कार्यक्रमका लागि सहयोग उपलब्ध भएको अर्थ मन्त्रालयका सहसचिव शर्माले बताए। 

उनले भने, ‘यस समझदारीले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित बनेका क्षेत्रका स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा मानव पुँजी निर्माण र सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्यका साथ दुवै कार्यक्रमका लागि सहयोग पुर्याउने छ।’

उनले रेन कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले क्रमशः विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनलाई सुदृढ गर्नका लागि लागू गरिने जानकारी दिए। 

रेन कार्यक्रम लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन हुने छ। साथै, गुणस्तरीय शिक्षामा विशेष ध्यान केन्द्रित गरी प्रभावकारी सामाजिक सेवामा पहुँच विस्तार गर्ने उनको भनाई छ।  

भदौ ११, २०८१ बुधबार १८:२२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।