'स्रोत अभावका कारण स्वास्थ्य बिमालाई बढाएर ५ लाख पुर्याउने योजना अड्किरहेको छ'
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले विशिष्टिकृत स्वास्थ्य सुविधालाई सरलीकरण गर्ने भनेपनि व्यवहारमा प्राथमिक स्वास्थ्य सुविधा समेत प्रवाह हुन नसकेको स्विकारेका छन्।
बुधबार भक्तपुर क्यान्सर अस्पतालमा बाभाटन रेडियोथेरापी विथ सिमुल्याटर मेसिनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरू पहिचान गर्न जरुरी रहेको उल्लेख गर्दै सरकार यसमा काम गरिरहेको बताए।
उनले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रमा समस्याहरू छन्। हामीले विभिन्न निर्णयहरुमार्फत पटक पटक विशिष्टिकृत स्वास्थ्य सुविधालाई सरलीकरण गर्ने, सस्तो र सर्वसुलभ ढंगबाट उपलब्ध गराउने भनेर भन्दै आएको स्थिति छ। तर, व्यवहारमा हामीले प्राथमिक स्वास्थ्य सुविधा निःशुल्क प्राप्त गर्न सकेको स्थिति पनि छैन र विशिष्टिकृत सेवा सरलीकरण ढंगबाट प्रवाह गर्न सकिरहेका छैनौं।’
त्यस्तै, स्वास्थ्य सेवाअन्तर्गत सबैभन्दा सस्तोमा पाउने बिमा सुविधा मात्र भएपनि बिमा सेवा समेत व्यवस्थित हुन नसकेको उनको भनाइ छ।
बिमाको सीमा एक लाखबाट बढाएर पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयको घोषणालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्रोतको खोजीमा सरकार हिँडिरहेको दाबी गरे।
‘बिमाको सीमालाई बढाएर पाँच लाख पुर्याउने स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। हामी यसलाई सरकारको नीति बनाउन चाहन्छौं। स्रोत नभएको कारणले एक लाखसमेत व्यवस्थित हुन नसकेको यो अवस्थामा पाँच लाख कसरी उपलब्ध हुनसक्छ भनेर हामीलाई प्रश्न गरिरहनुभएको छ। स्रोत उपलब्ध हुने माध्यम पनि सँगसँगै प्रस्तुत गरेका छौं,’ उनले भने।
भदौ १२, २०८१ बुधबार १८:०५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।