सरकारले भूकम्प र आँधीको चेतावनी दिएपछि जापानमा चामलको अभाव बढ्यो

सरकारले भूकम्प र आँधीको चेतावनी दिएपछि जापानमा चामलको अभाव बढ्यो

काठमाडौं : सरकारले भूकम्प र आँधी आउने चेतावनी दिएपछि जापानमा चामलको अभाव बढ्दै गएको छ। पछिल्ला केही हप्तादेखि, जापानका धेरै सुपरमार्केटहरूमा चामल सकिएको छ।

सन् १९९९ को जुनपछि जापानमा चामलको अभाव भएको यो पहिलो पटक हो। जापान टाइम्सका अनुसार चामल पाइने सुपरमार्केटहरूमा मानिसहरूलाई कम मात्रामा चामल किन्न आग्रह गरिएको छ।

जापान सरकारले भूकम्प र आँधीको खतराबारे चेतावनी दिएको थियो। त्यसयता मानिसहरू त्रासमा चामल किनेर घरमै थुपार्न थालेकाले बजारमा चामलको अभाव हुन थालेको जापान टाइम्सको रिपोर्टमा उल्लेख छ।

जापानमा मे देखि नोभेम्बर सम्मको महिनालाई टाइफुन सिजन भनिन्छ। यस अवधिमा लगभग २० वटा आँधीहरू आउँछन्। जसले गर्दा भारी वर्षा, पहिरो र बाढी आउने गर्दछ। आँधीको मौसममा पनि अगस्ट–सेप्टेम्बर महिनामा सबैभन्दा धेरै आँधी आउँछ। 

यो वर्ष १९ देखि २१ वटा हावाहुरी आउने सम्भावना छ। जापान सरकारले यी आँधीहरूबारे चेतावनी दिएको थियो, त्यसपछि मानिसहरू आतंकित भएका छन् र घरमा चामल भण्डारण गरिरहेका छन्।

चामल अभावका बीच जापान सरकारले मंगलबार जनतालाई शान्त रहन अपिल गरेको छ। कृषिमन्त्री तेतासी साकामोतोले देशका कतिपय ठाउँमा चामल मौज्दातको अभाव रहेको भए पनि छिट्टै त्यसलाई पार गर्ने बताउँदै अहिले धानको पर्याप्त स्टक रहेको जानकारी दिए।

धान बाली वर्षमा एक पटक मात्र लगाइन्छ। सेप्टेम्बरमा नयाँ धान काट्ने काम सुरू हुनेछ, त्यसपछि बजारमा नयाँ बाली आएसँगै स्थितिमा सुधार आउने बताइएको छ।

जापानमा अगस्ट १३ बाट ओबोन पर्व सुरू हुँदैछ। ओबोन पर्वको समयमा, मानिसहरूले आफ्ना पुर्खाहरूलाई श्रद्धाञ्जली अर्पण गर्छन्। यो पर्वका कारण मानिसहरू लामो बिदामा छन्। जसका कारण चामलको माग बढेको छ।

योसँगै यो वर्ष जापानमा कीर्तिमानी संख्यामा विदेशी पर्यटक आएका छन्। जसका कारण पनि धानको अभाव भएको छ। जापान राष्ट्रिय पर्यटन संगठनको प्रतिवेदनअनुसार यस वर्षको जुनसम्ममा ३१ लाखभन्दा बढी विदेशी पर्यटक जापान पुगेका छन्।

अमेरिकी कृषि विभागको विदेशी कृषि सेवाको प्रतिवेदनअनुसार २०२३–२४ मा जापानमा कुल धान उत्पादन ७३ लाख टन थियो भने चामलको खपत ८१ लाख टन थियो।

चामलको अभाव र बढ्दो मूल्यका कारण सन् १९१८ जुलाईमा जापानमा आन्दोलन नै भएको थियो। त्यतिबेला धानको मूल्य बढेपछि किसान र सर्वसाधारणले सरकारविरुद्ध प्रदर्शन गरेका थिए भने पछि शान्तिपूर्ण आन्दोलनले चाँडै हिंसात्मक रूप लियो र धेरै ठाउँमा आगजनी, लुटपाट, प्रहरी चौकी र सरकारी कार्यालयमा आक्रमण नै भएको थियो।

यही आन्दोलनका कारण पूर्वप्रधानमन्त्री तराउची मसाताकेले पदबाट राजीनामा दिनु परेको थियो। यस अवधिमा करिब २५ हजार व्यक्ति पक्राउ परेका थिए।  

भदौ १२, २०८१ बुधबार १७:५१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।