घरेलु मैदानमा बङ्गलादेशसँग नेपालको लाजै लाग्दो पराजय, गुमायो उपाधि
काठमाडौँ : साफ-यू २० च्याम्पियनसिपको फाइनलमा नेपाल बङ्गलादेशसँग ४-१ को गोल अन्तरले पराजित गरेको छ। फाइनलमा नेपाल बङ्गलादेशसँग लज्जास्पद रूपमा पराजित भएर उपाधि जित्ने मौका गुमायो।
बङ्गलादेशले फाइनलमा हाफटाइम अगाडि नै एक गोल गरेर अग्रता लिएको थियो। बङ्गलादेशका मिराजल इस्लामले खेलमा पहिलो गोल गरे। दोस्रो हाफमा थप तीन गोल थप्यो। दोस्रो गोल इस्लामले नै गरेका थिए। तेस्रो गोल राबी हुसेन राहुलले गरे।
बङ्गलादेशले फाइनलको खेललाई एकपक्षीय रूपमा आफ्नो बनाइसकेको थियो। नेपाली खेलाडीहरू घरेलु मैदानमै निरीह देखिएका थिए। धन्न नेपालको तर्फबाट समीर तामाङले एक गोल फर्काएर सान्त्वना पाए।
बङ्गलादेशले खेल आफ्नो पक्षमा पारिसकेको थियो। अन्तमा पुन पियास अहमद नोभाले एक गोल थपेर गोल सङ्ख्या ४ पूर्यायो।
समूहगत चरणमा नेपाल र बङ्गलादेश एकै समूहमा थियो। समूहगत चरणमा नेपालले बङ्गलादेशलाई २-१ को अन्तरले हराएको थियो। नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा जाँदा बङ्गलादेश उप-विजेता भएको थियो।
सेमिफाइनलमा नेपालले भुटानलाई हराएर फाइनलमा पुगेको थियो भने बङ्गलादेशले साबिक विजेता भारतलाई हराएको थियो।
भदौ ११, २०८१ बुधबार १७:०४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।