शंखमुलको पुल हाउसमा ४१ वर्षीय पुरुषको हत्या गरेको अभियोगमा एकजना पक्राउ

शंखमुलको पुल हाउसमा ४१ वर्षीय पुरुषको हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका-१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राइको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-७ घर भई हाल काठमाडौं-१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। 

उनका अनुसार यही भदौ १० मा शंखमुल साईबाबा पार्कस्थित लक्ष्मी बान्तवाको दुई तले घरको भुइँ तल्लाको सटरभित्र निजको छोरा ४१ वर्षीय रुपकले सञ्चालन गरेको पुल हाउसमा उनलाई कुटपिट गरी घाइते बनाइ फरार भएको र निजको राति नै मृत्यु भएकाले हत्या गरेको अभियोगमा एमके कुमारलाई पक्राउ गरिएको हो। 

प्रहरीले पक्राउ परेका एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रुपकको चेक, चस्मा, झोला, लुगा लगायतका सामान फेला पारी बरामद गरेको छ। 

घटनाबारे थप अनुसनाधन भइरहेको प्रहरीले जनाएको छ।  

भदौ ११, २०८१ बुधबार १६:०८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।