प्रहरी कर्मचारीको बैङ्क खाताको अनुसन्धान गर्दै प्रधान कार्यालय, एक डिआइजी छानबिनमा तानिँदै

प्रहरी कर्मचारीको बैङ्क खाताको अनुसन्धान गर्दै प्रधान कार्यालय, एक डिआइजी छानबिनमा तानिँदै

बुटवल : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बैङ्क खातामा शंकास्पद देखिएका प्रहरी छानबिनको दायरामा रहेको र एक बहालवाला डिआइजीको खाताको कारोबार शङ्कास्पद देखिएको बताए।

भैरहवामा बनेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको भन्दै प्रहरी अधिकारीको बैङ्क खाता चेक गरेर अनुचित आम्दानी गरेकालाई कारबाहीको दायरामा ल्याउन अनुसन्धान भइरहेको बताए।

‘प्रहरी अधिकारीहरूको बैङ्क खाता चेक गरिँदैछ, छिट्टै एकजना डिआइजी फस्दै हुनुहुन्छ’, उनले सार्वजनिक कार्यक्रममै भने।

ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासो रहेको भन्दै अब पनि नसुध्रिए कारबाही गर्ने चेतावनी दिएका थिए। ट्राफिक प्रहरीमा १० वर्ष एउटै अफिसमा बस्ने प्रवृत्ति रहेको भन्दै उनले अब यस्तो प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिए।

‘अब यो वा त्यो बहानामा, कहिले एउटा ढोका त कहिले अर्को ढोकामा काम गरेको अवस्था भत्काउनुपर्छ’, उनले भने।

उनले रुपन्देहीका प्रहरीको व्यवहार समेत चित्त बुझ्दो नभएको भन्दै रुपन्देहीमा राजस्व चुहावट धेरै भएको भन्दै सुधार्न निर्देशन दिएका थिए।

भदौ ११, २०८१ बुधबार १५:५४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।