माओवादीको सशस्त्र द्वन्द्व : प्रचण्ड रिसाएपछि ओली सच्चिए, योगेश अझै भन्दैछन् 'हिंसात्मक द्वन्द्व'
काठमाडौं : माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वको विषयलाई लिएर एमाले सचिव योगेश भट्टराईले बुधबारको संसद्मा 'हिंसात्मक द्वन्द्व' भनेपछि तनावको स्थिति बन्यो। बैठकमा एमालेको तर्फबाट बोल्दै सचिव भट्टराईले १० वर्षे हिंसात्मक द्वन्द्व नभएको भए लोडसेडिङ अन्त्यका लागि ०७५ साल कुर्नु पर्दैन थियो भने। तर, माओवादी सांसदले तत्काल आपत्ति जनाइहाले।
भट्टराईले बोल्दैगर्दा माओवादी सांसद माधव सापकोटाले उठेर सशस्त्र द्वन्द्वलाई ‘हिंसात्मक द्वन्द्व’ भनेको भन्दै त्यो भनाई रेकर्डबाट हटाउन माग गरे। तर, योगेशले टेरेनन्।
सापकोटाले त्यस्तो माग गर्दा सांसद भट्टराईले दोहोर्याएर भने, 'भने त्यो हिंसा नै हो र त्यो हाम्रो परिभाषा हो। तपाईंले धम्की दिएर कोही डराउँदैन, हिंसा नै हो त्यो। लोकतन्त्रमा बोल्न नदिनु पनि हिंसा हो, त्यसैले मान्यजीहरू बस्नुस्।'
माओवादी सांसद माधव सापकोटा, देवेन्द्र पौडेल, हितराज पाण्डे लगायतका सांसदहरू उठेर नियमापत्ति जनाउँदै हिंसा भन्ने शब्दको प्रयोग भएको र त्यो शब्द गैरसंसदीय रहेको भन्दै आपत्ति जनाइरहे। माधव सापकोटाले चर्कँदै भने 'जनयुद्धलाई हिंसा भन्ने?'
त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललाई बोल्न दिए। सचिव पौडेलले पनि उक्त शब्द हटाउनुपर्ने भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराए।
नभन्दै सभामुखले उक्त शब्दप्रति छानबिन गर्न संसद सचिवालयलाई निर्देशन दिए। तर, एमाले सांसदहरू उठेर सभामुखको निर्देशनप्रति आपत्ति जनाए।
त्यसपछि एमाले र माओवादी सांसदहरू उठेर आमने-सामनेको स्थिति बन्यो।
तर, फेरिपनि सभामुखले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए। पाण्डेले एमालेले सभामुखको निर्देशन नमानेको भन्दै आपत्ति जनाए। त्यसपछि सभामुखले आफ्नो निर्देशन नै अन्तिम भएको भनेपछि बैठक पुन: सुरू भयो।
त्यसअघि गत साउन २९ को संसद बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी सशस्त्र द्वन्द्वलाई 'जनयुद्ध' नभनेको भन्दै नेताहरूसँग असन्तुष्टि जनाएपछि प्रधानमन्त्री केपी ओली सच्चिएका थिए।
गत साउन २३ मा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसमक्ष सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदलले प्रतिवेदन बुझाएको थियो। त्यहीदिन प्रधानमन्त्री ओलीले फेसबुकमार्फत माओवादी सशस्त्र द्वन्द्वलाई 'हिंसात्मक द्वन्द्व' भनेका थिए।
तर, प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै प्रचण्डले हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरिएकोमा प्रचण्डको आपत्ति जनाए।
उनले भने, 'अहिले पनि नेताहरू बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ। माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तै गर्नुहुन्छ।'
उनले आफूअघि बोलेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालाई संकेत गर्दै थपे, 'जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ।'
त्यसपछि एमाले अध्यक्षसमेत रहेका ओलीले बुधबार साँझ फेसबुकबाटै पछिल्लो अभिव्यक्तिलाई सच्याउँदै माओवादी विद्रोहलाई सशस्त्र द्वन्द्वको संज्ञा दिए।
'लामो समयसम्म हाम्रो समाजले सशस्त्र द्वन्द्व भोग्यो। त्यस दौरानमा कयौंको ज्यान गयो, कयौं बेपत्ता भए, कयौंका अङ्गभङ्ग भए। त्यस द्वन्द्वलाई अन्तिम टुङ्गोमा पुर्याउने काम आज प्रतिनिधिसभाको बैठकले गरेको छ, उनले लेखेका थिए।
भदौ १२, २०८१ बुधबार १५:३७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।