‘हिंसा’ शब्दले संसदमा माओवादी-एमाले सांसद आमने-सामने, माधवले विरोध गर्दा योगेशले भने ‘त्यो हिंसै हो’

‘हिंसा’ शब्दले संसदमा माओवादी-एमाले सांसद आमने-सामने, माधवले विरोध गर्दा योगेशले भने ‘त्यो हिंसै हो’

काठमाडौँ : प्रतिनिधि सभाको नियमित बैठकमा नेपाल विद्युत् प्राधिकरणमा भइरहेको भ्रष्टाचारसँगै डेडिकेटेड र ट्रङ्क लाइन बोल्नेक्रममा माओवादीको सशस्त्र द्धन्द्धकालिन समयको विश्लेषण गर्दै ‘हिंसा’ शब्दको प्रयोग गरेपछि संसद्मा माओवादी र एमाले सांसद आमनेसामने भए।

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल बक्यौता उठाउने विवादलाई भट्टराईले माओवादीको १० वर्षीय सशस्त्र द्वन्द्वका कारण नेपालमा जलविद्युत् विकासमा असर परेको भन्दै हिंसात्मक गतिविधिका कारण नेपालको जलविद्युत् विकासमा असर परेको भनेपछि माओवादी सांसदहरू उठेर आपत्ति जनाए।

माओवादी सांसद माधव सापकोटा, देवेन्द्र पौडेल, हितराज पाण्डे लगायतका सांसदहरू उठेर नियमापत्ति जनाउँदै हिंसा भन्ने शब्दको प्रयोग भएको र त्यो शब्द गैर संसदीय रहेको भन्दै आपत्ति जनाए। माधव सापकोटाले चर्कँदै भने 'जनयुद्धलाई हिंसा भन्ने।'

उता माओवादी सांसद चर्किरहेको बेलामा यता योगेशले ‘यो धम्कीले कोही पनि डराउँदैन, त्यो हिंसा हो’ भनिरहे। उनीहरू चिच्याइरहे। योगेशले हिंसै हो भनिरहे। माओवादी सांसदहरू उभिएपछि सभामुखले माओवादी केन्द्रको तर्फबाट सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए।

पौडेलले बोल्न थालेपछि एमालेका सांसदहरू आफ्नो ठाउँबाट उठेर विरोध गर्न थाले। उनले माओवादी जनयुद्धलाई हिंसा भनेर शान्ति प्रक्रिया भाँड्ने प्रयास भएको भन्दै सो शब्द रेकर्डबाट हटाउन माग गरेका थिए। उनले संसद्मा संविधान विपरीतका शब्द प्रयोग नगरौँ भने।

सभामुख देवराज घिमिरेले ‘संसद्को मर्यादालाई ख्याल गरौँ, हिंसा भएको शब्द कसरी प्रयोग भएको छ, त्यो संवैधानिक छ या छैन, त्यसबारे बहस गर्न सकिन्छ’ भनेर संसद् अगाडि बढाउन खोजे। तर एमाले र माओवादीका सांसदहरू बस्न मानेनन्। दुबैतिर उभिइरहे।

सभामुखले पुन ‘उहाँले प्रयोग गरेको शब्द कसरी प्रयोग भएको छ यहाँ छलफल गरेर टुङ्ग्याउन सम्भव छैन’ भन्दै आफ्नो भनाई टुङ्ग्याउन योगेशलाई समय दिए। तर माओवादीका सांसदहरूले अवरोध जारी राखे।

माओवादी केन्द्रका हितराज पाण्डे, माधव सापकोटा उठिरहे। सभामुखले ‘यही विषयमा धेरै लामो लैजान आवश्यक छैन। निर्धारित कार्यक्रम अगाडि बढाउन आग्रह गर्छु’ भनिरहे पनि माधव सापकोटा चिच्याइरहे। योगेशले बोलिरहे।

आवश्यकता भन्दा बढी ट्रान्समिटर किनेर भ्रष्टाचार भएको भन्दै योगेश बोलिरहेका थिए। उनले छानबिनको माग गरिरहे। माओवादी सांसदहरूले हल्ला गरिरहेपछि सभामुखले एमाले सांसद योगेशलाई बस्न आग्रह गर्दै माओवादी सांसद हितराजलाई बोल्न समय दिए।

उनले नियमापत्ति उठाइरहेको भने। हितराजको नियमापत्तिपछि सभामुख घिमिरेले छानबिन गरेर हिंसा शब्दको प्रयोगबारे छानबिन गर्न सचिवालयलाई निर्देशन दिँदै योगेशलाई आफ्नो कुरा टुङ्ग्याउन एक मिनेटको समय दिए।

समय पाए लगत्तै योगेशले ‘राजनीतिक प्रतिविद्धतामा के को छानबिन’ भन्दै आफ्नो कुरा सुरु गरेपछि माओवादी सांसदहरूले पून हल्ला सुरु गरे। अन्त्यमा एक मिनेट समय पाएपछि योगेशले ‘विद्धुयतको ट्रान्समिसन लाइन पड्काउनु, प्रहरी मार्नु, चन्दा उठाउनु, आतङ्क फैलाउनु सबै हिंसा हो धन्यवाद’ भन्दै बसे।

योगेश बसेपछि एमालेका अर्का सांसद रघुजी पन्तले नियमापत्ति जनाउँदै बोल्न समय मागिरहे। सभामुखले दुई मिनेटको समय दिए।

रघुजी बोल्न थाल्दा पनि माओवादी सांसदको अवरोध जारी थियो। उनी ‘मेरो कुरा सुन्नुस् त। दोहोरी खेलेको हैन’ भन्दै बोल्ने प्रयास गरिरहे।

माओवादी सांसदहरू केही शान्त भएपछि पन्तले कुनै पनि माननीय सांसदले असंसदीय शब्द बोलेमा नियमापत्ति उठाउन पाउने तर कुन शब्द संसदीय हो अनि कुन असंसदीय हो भन्ने विषयमा छुट्याउनु पर्ने र यो हिंसा भन्ने शब्द गैर संसदीय नभएको तर्क गर्दै ‘जनयुद्धमा मान्छे मरेकी मरेनन्, मान्छे मार्नु हिंसा हो’ भन्दै भन्दै भनाई सक्काए।

पन्तले बोलेपछि माओवादीका सांसद सापकोटा समय माग्दै उठिरहे। सभामुखले ‘यस विषयमा दोहोरी चलाउने हैन’ भने पनि माओवादी सांसदहरू बसेनन्। रघुजीलाई बोल्न समय दिने, हामीलाई चैँ नदिने’ भन्दै उभिइरहेपछि सभामुखले माओवादी केन्द्रको तर्फबाट को बोल्ने नाम मागेपछि हितराज पाण्डेले बोल्दै संसद्मा नियमापत्ति गर्न पाइने र संसद् नियमअनुसार नचलेको धारणा राखे।

त्यसपछि सभामुख घिमिरेले नियम अनुसार संसद् चलाउन सहयोग गर्न आग्रह गर्दै विशेष समयलाई अगाडि बढाए।

भदौ ११, २०८१ बुधबार १५:०१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।