भारत पुर्‍याएर मिर्गौला बेच्ने गिरोह पुन: सक्रिय, कोलकाता लगेर मिर्गौला बेचेको आरोपमा पक्राउ परे दुई कारोबारी

भारत पुर्‍याएर मिर्गौला बेच्ने गिरोह पुन: सक्रिय, कोलकाता लगेर मिर्गौला बेचेको आरोपमा पक्राउ परे दुई कारोबारी

काठमाडौँ :  नेपाली नागरिकलाई प्रलोभनमा पारेर अनि स्वैच्छिक रूपमै भारत पुगेर मिर्गौला विक्री गर्ने गिरोह सक्रिय रहेको लामै समय भयो। काभ्रेको होक्से त मिर्गौला विक्री गर्नेहरूको गाउँकै रूपमा बदनाम भयो।

विभिन्न बहानामा भारत पुर्याएर जवर्जस्ती मिर्गौला झिकेर विक्री गर्ने घटना बढेपछि प्रहरीले संयुक्त अप्रेसन चलाएको थियो। प्रहरीको कारबाहीकोक्रममा भारतमा पुर्याएर मिर्गौला विक्री गर्नेसँगै नेपालभित्रकै अस्पतालमा मिर्गौला विक्री गर्ने समूहका सदस्यहरू समेत समातिएपछि यो घटना एकाएक घटेको थियो।

तर बुधवार सार्वजनिक भएको घटनाले पुन यस्तो मानव अङ्गको कारोबार गर्ने समूह सक्रिय भएको सङ्केत देखिएको छ। प्रहरीले फकाएर भारत पुर्याएर जवर्जस्ती मिर्गौला निकालेर अर्को व्यक्तिमा प्रत्यारोप गरेको आरोपमा दुई जनालाई पक्राउ गर्यो।

मानव बेचबिखन ब्यूरोले बुधवार सार्वजनिक गरे अनुसार ललितपुर महानगरपालिका-८ का ३७ वर्षीय शङ्कर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका-२ की ४२ वर्षीया शान्तिमाया घलान पक्राउ परेका हुन्।

उनीहरूमाथि प्रहरीले पीडितलाई मिर्गौला बिक्री गरेमा १० लाख कमाउन सकिने प्रलोभनमा पारेर स्वास्थ्य परीक्षण गराई काठमाडौँबाट वीरगन्ज हुँदै भारतको कलकत्ता पुर्याएर उतै जवर्जस्ती मिर्गौला निकालेर प्रत्यारोपण गराएको प्रहरीको दाबी छ।

थप अनुसन्धानमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एकाघर परिवार भित्रको व्यक्ति भन्ने विश्वास दिलाउन नेपाली नागरिकताको प्रमाणपत्र लगायतका कागजातहरू झुटो बनाएर धम्की देखाएर पैसा समेत नदिएको प्रहरीको दाबी छ।

उनीहरूलाई ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जानकारी गराएको छ।

भदौ ११, २०८१ बुधबार १४:२२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।