थाइल्यान्डमा मदिरा पिउँदा छ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर

थाइल्यान्डमा मदिरा पिउँदा छ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर

एजेन्सी : थाइल्यान्डमा गैरकानूनी रूपमा बनाइएको मेथानोलयुक्त मदिरा पिउँदा कम्तीमा छ जनाको मृत्यु भएको छ।

गम्भीर अवस्थामा रहेका २२ जनालाई अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले बुधबार बताएका छन्। बैङ्ककको उत्तरपश्चिमी किनारमा रहेको ‘ख्लोङ साम वा’ जिल्लामा यो घटना भएको हो।

अधिकारीहरूले यस क्षेत्रको सडक किनारमा रहेका १९ पसलमा अवैध मदिरा बिक्री गरेको छापापछि फेला पारिएको थाइ प्रशासनले जनाएको छ।

थाइल्याण्डमा मदिरा बिक्रीलाई प्रत्येक दिनको निश्चित घण्टामा सीमित गर्ने र धार्मिक बिदाहरूमा यसको व्यापारमा प्रतिबन्ध लगाउने कडा मदिरा कानूनी प्रावधान छन्।

तर, यस्ता नियमले स्थानीय रूपमा ‘या डोङ’ भनेर चिनिने अनियमित ढङ्गले बनेको सस्तो रक्सीको कालो बजारलाई प्रोत्साहन गरेको आलोचकहरूले बताएका छन्।

‘ख्लोङ साम वा’ जिल्लाका शीर्ष स्थानीय अधिकारी सोमवाङ चाइप्राक्राइवानले अधिकारीहरूले यस क्षेत्रका अवैध मदिरा पसलमाथि कारबाही गरेको बताए।

अवैध रूपमा बनाइएको मदिरामा यसको शक्ति बढाउन प्राय मेथनोल मिसाइन्छ। मेथानोलको सेवनले अन्धोपन, कलेजोको क्षति र मृत्युसमेत निम्त्याउन सक्छ।

भदौ ११, २०८१ बुधबार १४:०१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।