ओली र देउवाविरुद्ध नाराबानीको विषयमा संसदमा सत्तापक्ष र प्रतिपक्षको जुहारी

ओली र देउवाविरुद्ध नाराबानीको विषयमा संसदमा सत्तापक्ष र प्रतिपक्षको जुहारी

काठमाडौं : गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध भएको नाराबाजीको सन्दर्भमा संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आकस्मिक समय माग गर्दै पक्राउ ओली र देउवाविरुद्ध नाराबाजी गरेका युवकलाई तत्काल रिहाइको माग गर्दा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले यस्तो विषय संसदमा उठाउन नहुने तर्क गरे।

राज्यले युवाले राखेको विरोधका बोलीहरू सुन्नसक्ने धैर्य राख्नुपर्ने भन्दै उनले भने, ‘स्वदेशमा अवसर र रोजगारीबाट बञ्चित बनाइएको ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दै गर्दा यसरी समाउन पाइँदैन। म ती युवाहरूको तत्काल रिहाइको माग गर्न चाहन्छु।’

साथै उनले विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरू समातिएको भन्दै कमिलको प्वाँख पलाउने बेलाको जस्तो नहोस् भन्दै सचेत समेत गराए।

‘कमिलाको उड्नेबेलामा प्वाँख पलाउँछ, यस्तै नहोस्। हामी पनि यस विषयमा संवेदनशील छौँ तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ,’ उनले थपे, ‘गृहमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

गौरा पर्वमा आएका युवाहरूलाई समाउने हो भने टुँडिखेल भरी आएका सबै युवा समाउनुपर्ने उनको माग छ।

उनले अगाडि भने, ‘त्यसरी समाउन क्यामेराले भेट्या थिएन होला? के गर्नुहुन्छ? युवालाई त्रसित नबनाउनुस्।’

संसद्को शून्य समयमा कांग्रेस सांसद् घिमिरेले गौरा पर्व सुदूरपश्चिमको परिचय र विशुद्ध सांस्कृतिक कार्यक्रम भएको भन्दै त्यहाँ भएको नाराबाजी उश्रृंखल र अराजक व्यवहार भएको तर्क गरे।

‘त्यो कार्यक्रममा जुन ढंगको प्रस्तुति भयो, उश्रृंखल र अराजक व्यवहार नै थियो। यस्ता व्यवहार चाहे युवाले गरुन्, प्रौढले गरुन् चाहे जुनसुकै धर्म, वर्ण, लिंग जसले गरेको भए पनि उश्रृंखल नै हो,’ उनले भने, ‘यस्तो विषयलाई लिएर संसदमा उठाउन थाल्यौं भने हामीले मुलुक र समाजको संस्कृतिलाई कता लाँदैछौं भनेर गम्भीरतापूर्वक संसदको ध्नायाकर्षण गराउन चाहेँ।’

भदौ १० गते गौरा पर्वको अवसरमा टुँडिखेलमा भएको सांस्कृतिक कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको थियो।

कार्यक्रममा देउवाले आफ्नो आक्रोश पोडियमबाटै व्यक्त गरेका थिए भने ओलीले गृहमन्त्रीमार्फत भिडियो फुटेजको आधारमा नाराबाजीमा संलग्लाई पक्राउ गरेर मुद्दा चलाउन लगाए।

भदौ ११, २०८१ बुधबार १३:५०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।