सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदार गर्दा युवालाई पक्रन पाइँदैन : सांसद ढकाल

सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदार गर्दा युवालाई पक्रन पाइँदैन : सांसद ढकाल
फाइल तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हरि ढकालले गौरा पर्वका अवसरमा टुँडिखेलमा विरोध प्रदर्शन गरेर पक्राउ परेका युवाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले अराजकता र उश्रृंखलाको नाम दिएर भिडियो फुटेजहरू स्क्रिनिङ गरी-गरी युवाहरू पक्राउ गरिएकाले तत्काल उनीहरूलाई रिहा गर्न सांसद ढकालले माग गरेका हुन्।

राज्यले युवाले राखेको विरोधका बोलीहरू सुन्नसक्ने धैर्य राख्नुपर्ने भन्दै उनले भने, ‘स्वदेशमा अवसर र रोजगारीबाट बञ्चित बनाइएको ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दै गर्दा यसरी समाउन पाइँदैन। म ती युवाहरूको तत्काल रिहाइको माग गर्न चाहन्छु।’

साथै उनले विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरू समातिएको भन्दै कमिलको प्वाँख पलाउने बेलाको जस्तो नहोस् भन्दै सचेत समेत गराए।

‘कमिलाको उड्नेबेलामा प्वाँख पलाउँछ, यस्तै नहोस्। हामी पनि यस विषयमा संवेदनशील छौँ तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ,’ उनले थपे, ‘गृहमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

गौरा पर्वमा आएका युवाहरूलाई समाउने हो भने टुँडिखेल भरी आएका सबै युवा समाउनुपर्ने उनको माग छ।

उनले अगाडि भने, ‘त्यसरी समाउन क्यामेराले भेट्या थिएन होला? के गर्नुहुन्छ? युवालाई त्रसित नबनाउनुस्।’

भदौ ११, २०८१ बुधबार १३:३२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।