विवादित सिग्देल प्रधानसेनापति नियुक्त

विवादित सिग्देल प्रधानसेनापति नियुक्त

काठमाडौं : नेपाली सेनाका विवादित बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति पदमा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम विवादित सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन्।

उनी २०८१ भदौ २४ गतेबाट लागू हुने गरी सेनाको प्रधान सेनापति पदमा नियुक्त भएको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सिग्देल दोहोरो नागरिकता र उमेर विवादमा तानिएका सेनाका अधिकारी हुन्। यसअघिका प्रधानसेनापति प्रभुराम शर्माको जोडबलमा उनी प्रधानसेनापति बनेका हुन्।

गतवर्ष उपरथीबाट रथीमा बढुवाका लागि सिफारिस भएपछि उमेरमा कीर्ते भएको भन्दै २०८० मंसिर ५ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सिग्देलविरुद्ध उजुरी परेको थियो। आयोगले नेपाली सेना आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरी रक्षा मन्त्रालयमा पठाएको थियो।

शैक्षिक योग्यता प्रमाणपत्र र क्याम्पसको ढड्डामा फरक-फरक जन्ममिति रहेको भन्दै उनीविरूद्ध उजुरी हालिएको थियो। त्रिभुवन विश्वविद्यालयको अभिलेखमा रहेको २०२१ चैत १९ जन्ममितिलाई सच्याएर २०२३ माघ १९ गते बनाएको आरोप पनि सिग्देलमाथि छ।

उक्त जन्ममिति भने २०७६ साउन ३० गते सच्याएको भन्दै अख्तियारमा बेनामे उजुरी दिइएको थियो। उजुरीमा क्याम्पसको ढड्डामा २०२१ चैत १९ गते भएको उल्लेख गरिएको थियो।

तर, सोही कलेजले २०४३ साल भदौ १२ गते जारी गरेको एक पत्रमा उनको जन्ममिति २०२३ माघ १९ गते रहेको उल्लेख छ।

यसबारे रक्षा मन्त्रालयका तत्कालीन प्रवक्ता प्रकाश पौडेलले शैक्षिक प्रमाणपत्र र नागरिकतामा एउटै जन्ममिति रहेको कागजातहरू उपलब्ध भएको बताएका थिए। उनका अनुसार शैक्षिक प्रमाणपत्र र नागरिकतामा पनि २०२३ माघ १९ गते नै छ।

सिग्देलविरुद्ध २०७६ सालमा मन्त्रालय र जंगी अड्डामा उजुरी परेको थियो। उक्त उजुरीमाथि मन्त्रालयले छानबिन समिति बनाएर अनुसन्धान गरेको थियो।

तर उक्त समितिले ढड्डामा लेख्दा गल्ती भएकाले ढड्डामा भएको मिति सच्याउन भनिएको थियो। त्यसअनुसार उनलाई सफाइ दिएर ढड्डाको मिति सच्याइएको थियो।

यसअघि उपरथीबाट रथीमा बढुवा हुन लागेका ताराध्वज पाण्डेको जन्ममिति विवाद बाहिरिएको थियो। उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक-फरक पाइएको भन्दै मन्त्रालय र जंगी अड्डामा उजुरी परेको थियो। पाण्डेमाथि छानबिन हुनेभएपछि उनले २०८० कात्तिक २४ गते राजीनामा दिएका थिए।

भदौ ११, २०८१ बुधबार १३:०८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।