एकीकृत समाजवादीको १८ केन्द्रीय पदाधिकारी चयन

एकीकृत समाजवादीको १८ केन्द्रीय पदाधिकारी चयन

काठमाडौं : एकीकृत समाजवादीको १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ।

वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए।

सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ साह निर्वाचित भएका छन्।

उपाध्यक्ष (खुला)मा जगन्नाथ खतिवडा, डा गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका छन्।

यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित भएको पार्टीको निर्वाचन आयोगले जनाएको छ।

पार्टीको सचिव पदमा (समावेशी) बलदेव चौधरी र सचिव (दलित) गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन भएका छन्।

पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मङ्गलबार राति मतदान भएको थियो। पोलिटब्यूरो सदस्यको मतगणना हुन बाँकी रहेकाले परिणाम साँझसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए।

गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो।

भदौ १२, २०८१ बुधबार ११:१९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।