साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं : राजधानीमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ।
सातदोबाटोस्थित एन्फा मैदानमा दिउँसो साढे दुई बजे सुरू हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो।
नेपालले भुटानलाई र बंगलादेशलाई भारतलाई पेनाल्टी सटआउटमा पराजित गर्दै एकअर्काविरुद्ध उपाधि भिडन्त पक्का गरेका हुन्।
दुवै खेलमा एक-एक गोलको नतिजा आएपछि फाइनल पुग्ने टिमको छिनोफानो पेनाल्टीबाट गरिएको थियो। नेपाल र भारत समूह चरणमा पनि भिडेका थिए। जसमा नेपाल विजयी भएको थियो।
सुरूका दुई संस्करणको उपाधि जिते यता थप तीन संस्करणमा फाइनल पुग्न पनि असफल नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ। उता, बंगालदेश पनि यसअघिका संस्करणमा भारतसँग फाइनलमा पराजित हुँदै उप विजेतामा सिमित हुन पुग्दै आएको टिम हो।
बंगलादेश पनि नयाँ इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रिने छ। दुवै टिमका प्रशिक्षक र कप्तानले फाइनल खेल उपाधि जित्नकै लागि मैदान उत्रने प्रतिक्रिया दिएका छन्। उनीहरूले समूह चरणमा गरेका गल्तीलाई सुधार गर्दै फाइनल खेल्ने बताएका हुन्।
भदौ १२, २०८१ बुधबार ०७:१६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।