मुस्ताङको थासाङमा पुनः हिउँपहिरो आयो, बोक्सीखोला थुनियो

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो आयो, बोक्सीखोला थुनियो

म्याग्दी : धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट सोमबार साँझ पुनःहिउँपहिरो खसेको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा भदौ ७ गते अपराह्न हिउँ पहिरो खसेको थियो।

थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवक्ता गौतम शेरचनले हिउँ पहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए।

‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ’, उनले भने’हिउँ पहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएकाले सतर्कता अपनाइएको छ।’

बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो। सोमबार साँझ ५:४५ मा हिउँपहिरो खसेको थियो। आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्छ। यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए।

भदौ ११, २०८१ बुधबार ००:०१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।