भारतमा बिजुली बेचेर एक महिनामा प्राधिकरणले कमायो चार अर्ब १९ करोड
काठमाडौँ : आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरेर चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ।
प्राधिकरणको प्रणालीमा हाल झन्डै तीन हजार तीन सय मेगावाट बराबरको बिजुली उपलब्ध छ। त्यसमध्ये आन्तरिक रूपमा कूल एक हजार नौ सय २९ मेगावाट बराबरको खपत भइरहेको छ। यस्तै देशभित्रको कूल माग भने दुई हजार छ सय ३३ मेगावाट बराबर रहेको प्राधिकरणले जनाएको छ। यस प्रकारको माग भने एकाध घण्टाको मात्रै हो।
साँझ र बिहान बिजुलीको बढी माग भए पनि रातको समयमा माग घट्न जाँदा निर्यात गर्नुको विकल्प प्राधिकरणसँग छैन। रातको समयमा बढी भएको बिजुली भारत निर्यात गर्दा त्यसबाट प्राधिकरणले उल्लेख्य मात्रामा आम्दानी गर्न सफल भएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
मुलुकभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी अतिरिक्त आम्दानी गर्न प्राधिकरण सफल भएको प्राधिकरणले जानकारी दिएको छ। दैनिक हिसाब अनुसार साउनमा १३ करोड ११ लाख बराबरको बिजुली निर्यात भएको छ।
भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने गरेको छ। त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट मात्रै दुई अर्ब ६२ करोड १२ लाख तीन हजार भारु आम्दानी भएको छ। साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट आठ रुपैयाँ ५१ पैसा छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आठ वर्ष अघिसम्म वर्षायाममा दैनिक ८-९ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहोर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायाममा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए।
प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने आउने भए पनि हाल मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उनले बताए।
‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार एवम् विस्तारका कार्य अभियानकै रूपमा कार्यान्वयन भइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ‘आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बङ्गलादेशलाई निर्यात गरिने छ।’
घिसिङले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्राको सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न समेत सकारात्मक योगदान पुगिरहेको उनले दाबी गरे।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)लाई बिक्री गरिरहेको छ।
एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ। प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ।
केही दिनअघि द्विपक्षीय सम्झौता बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप दुई सय ५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो। यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ दशमलव ८९ मेगावाट बिक्री गरिने छ। हाल दुई आयोजनाबाट उत्पादित एक सय नौ दशमलव ६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ।
कूल १० जलविद्युत् आयोजनाबाट उत्पादित एक सय २५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसी, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ।
बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु हुने छ।
हाल १४ आयोजनाबाट उत्पादित पाँच सय ८० दशमलव ८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा बिक्री भइरहेको छ। केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रूपमा छ सय ९० दशमलव ५० मेगावाट विद्युत् निर्यात भइरहेको छ।
स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ। त्यसैले हाल दैनिक रूपमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ।
गत आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो। यही अवधिमा १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो। गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।
प्राधिकरणले २०७९ जेठ २० गतेदेखि विद्युत् निर्यात सुरु गरेको थियो। पहिलो चरणमा ३९ मेगावाट निर्यात गरेको थियो। सुरुआती चरणमा त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रबाट उत्पादित बिजुली भारत निर्यात भएको थियो।
दुई देशबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने गरी दीर्घकालीन विद्युत् सम्झौता समेत भइसकेको छ। यस्तै, बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण तत्कालका लागि ४० मेगावाट निर्यात गर्ने अन्तिम तयारी भए पनि स्थगित भएको छ।
-रासस
भदौ १०, २०८१ मंगलबार २३:५३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।