ढँटुवा विमलेश : नेपाल आएर फिल्म बनाउने घोषणा गरे, एक वर्षपछि अमेरिका पुगेर वेब सिरिज!

ढँटुवा विमलेश : नेपाल आएर फिल्म बनाउने घोषणा गरे, एक वर्षपछि अमेरिका पुगेर वेब सिरिज!

काठमाडौं : एक वर्षअघि अमेरिकाबाट नेपाल आएर अभिनेता विमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’को घोषणा गरे। रन्जना गल्लीमा रहेको एक होटलमा पत्रकारलाई साँची राख्दै फिल्मको घोषणा गरेका थिए। उनले आफूले गीतमा मोडलिङ गर्दाका सहकर्मी केकी अधिकारी र रिमा विश्वकर्मालाई अभिनेत्रीमा अनुबन्ध गरेको समेत जानकारी दिए।

केही महिनामा नै फिल्म बन्छ भनेको एक वर्ष भयो। तर, उनले न फिल्मको छायांकन थाले, न कुनै कलाकार अनुबन्ध गरे। उपस्थित भएका पत्रकार तथा युट्युबरलाई खाजा नास्ता गराए। सोही समयमा एउटा फिल्मको थिम बोकेको एउटा टिजर पनि देखाए। 

त्यसपछि उनी अमेरिका हानिए। उतै रहेका उनले फिल्म निर्माणको नाम निसाना लिएका छैनन्। हिरोइनमा अनुबन्ध भएका केकी र रिमा फिल्ममा खेल्न मख्ख भए। अन्तवार्ता पनि दिए। त्यो त्यतिकैमा सकियो। 

बरू केकी आफैले फिल्म ‘बोक्सीको घर’निर्माण गरिन्, करोडौं कमाइन् तर विमलेश आफूले घोषणा गरेको फिल्म बनाउन नेपाल फर्किएनन्। त्यसपछि उनी अमेरिकामा भेटिएका कलाकारसँग अन्तवार्ता गदै भिडियो युट्युबमा हाल्दै, पैसा कमाउँदै आएका छन्। 

फिल्म घोषणा गरेको लामो समयपछि उनले फेरि वेब सिरिजको घोषणा गरेका छन्। उनले वेब सिरिज ‘घर : बट इन अमेरिका’ बनाउने घोषणा गरे, त्यो पनि सामाजिक सञ्जालमार्फत। 

उनले मंगलबार वेब सिरिजको पोस्टर सार्वजनिक गर्दै यो सिरिज नेपाली कथा वाचनमा कोसेढुंगा हुने दाबीसमेत गरेका छन्। 

पोस्टरमा उनले हालसालै दोस्रो विवाह बन्धनमा बाँधिएकी अभिनेत्री अरुणिमा लम्साल लगायत केही कलाकारको तस्विर राखेका छन्। उनी आफै पनि पोस्टरमा देखिएका छन्। यो सिरिजमा अरुणिमा लम्साल खेलिन् भने उनी  १० वर्षपछि अभिनयमा फर्किने छिन्। 

सिचुएसनल कमेडी–ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंको लेखेका छन्।

विमलेशले वेब सिरिजका बारेमा लेख्छन्, ‘हाम्रो वेब सिरिज ‘घर : बट इन अमेरिका’को फस्टलुक प्रस्तुत गर्दैछु। यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्वपूर्ण कोसेढुंगा हुनेछ।’

भदौ १०, २०८१ मंगलबार २१:०९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।