फिल्म ‘खुम्मा’का कलाकार उपासना र धिरजलाई कत्तिको थाहा छ, माओवादी द्वन्द्वको कथा-व्यथा ?
काठमाडौं : नेपालमा तत्कालीन माओवादी विद्रोही र सरकारबीचको द्धन्द्धलाई पछिल्लो पुस्ता अधिकांशले चासो राख्दैनन्। ०५२ सालबाट सुरू भएको द्धन्द्ध ०६२/६३ मा सकिएको भयो। तर, त्यो दश वर्षको बीचमा के के भयो र कस्तो थियो त्यति बेलाको अवस्था भन्ने बारेमा पछिल्लो पुस्ताका अभिनेता-अभिनेत्रीलाई पनि थाहा छैन।
यो द्वन्द्वकालीन अवस्था नभोगेका अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता धिरज मगरलाई थाहा पनि छैन। त्यसो त नेपाली कलाकार अझ त्यसमा पनि नयाँ पुस्ताका कलाकार अध्ययन नै गर्दैनन्। अनि धिरज-उपासनालाई पनि कसरी थाहा होस्, माओवादी द्वन्द्वको कथा! तर, उनीहरुले त्यही बेलाको कथालाई फिल्म ‘खुम्मा’मा अभिनय गरेका छन्।
हालै यही फिल्मको गीत रिलिज कार्यक्रममा उनीहरुलाई तपाईंहरूले त्यो द्वन्द्वकालीन समयका कथामा अभिनय गर्न कतिको असजिलो भयो? भन्ने प्रश्नमा धिरजले आफूले निकै च्यालेन्जिङ फेस गरेको बताए।
उनले अरू फिल्ममा भन्दा यो फिल्मको स्कृप्ट धेरै पढ्नु परेको र आमासँगको सोधपुछपछि यो क्यारेक्टर निभाउन सहज भएको सुनाए।
उनले भने, ‘त्यो समयमा मेरो आमा गाउँमा नै हुनुहुन्थ्यो। उहाँ पनि त्यही समयमा गुज्रिरहनुभएको थियो। अनि कतिपय साथीभाइहरूलाई पनि सोधें। मेरो साथीहरू द्वन्द्वकालीन समयमा नेपालमै हुनुहुन्थ्यो। उनीहरुको स्टोरी सुन्दा नै मलाई कस्तो अप्ठ्यारो फिल हुने के।’
यता, अभिनेत्री उपासनाको आफ्नै कथा रहेछ। उनको बुबा नै आर्मी भएर रुकुममा पुगेको उनले सुनाइन्।
उनले भनिन्, ‘मेरो बुबा नै आर्मी। त्यो बेलाको अवस्था बुझ्न थाहा पाउन मलाई एकदमै सजिलो भयो। मैले पनि त्यही ममि-बाबालाई सोधेर नै हो। मेरो बुबाको त्यो बेलाको पोस्टिङ पनि रुकुमै भाको भएर पनि कस्तो थियो त्यो बेलाको अवस्था भनेर बुझ्न पाएँ।’
उनले आफूले फिल्ममा काम गर्न चाहेको अभिनेतासँग अभिनय पाउँदा अझै सहज भएको समेत सुनाइन्।
धिरजले यसअघि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’,‘बाबरी र ज्याकीः आई एम ट्वान्टी वान’लगायत पछिल्लो फिल्म ‘एक भगवत एक गीता’मा अभिनय गरेका थिए। उनका अधिकांश फिल्म नै असफल भए।
उपासना भने अनमोल केसीसँग जोडी रहेको फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी थिइन्। त्यसपछि ‘कबड्डी’ को तेस्रो सिक्वेल ‘कबड्डी ४’ र ‘२ नम्बरी’मा हुँदै पछिल्लो समय अभिनय गरेको फिल्म ‘डिसेम्बर फल्स’मा अभिनय गरिन्।
उनको पछिल्लो ‘डिसेम्बर फल्स’ फ्लप फिल्म हो।
भदौ १०, २०८१ मंगलबार २०:३६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।