डाक्टर बलात्कारपछि हत्या प्रकरण : भारतीय प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्यो, १०० प्रदर्शनकारी पक्राउ

डाक्टर बलात्कारपछि हत्या प्रकरण : भारतीय प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्यो, १०० प्रदर्शनकारी पक्राउ

एजेन्सी : भारतको कोलकाताको सरकारी अस्पतालमा बलात्कारपछि हत्या गरिएकी डाक्टरको न्यायका लागि माग गरिरहेका हजारौं प्रदर्शनकारीसँगको झडपमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। 

कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव प्राप्त भएपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दामा मुलुकभर आक्रोश बढेको छ। 

मङ्गलबारको प्रदर्शनमा पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीको राजीनामा माग गर्दै हजारौं मानिसले कोलकाताको एक सरकारी भवनसम्म जुलुस निकाले। उनीहरूले नारा लगाउँदै प्रहरीसँग झडप गरेपछि प्रहरीले भीडलाई तितरबितर गर्न लाठीचार्ज गर्यो। 

विरोध प्रदर्शनमा सहभागी कलेज छात्रा नमिता घोषले भीडले लाठीचार्जअघि ‘शान्तिपूर्ण विरोध’ गर्ने उद्देश्य राखेको बताइन्। 

नाम उल्लेख नगर्ने शर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले भने, 'हिंसा फैलाएको आरोपमा कम्तीमा एक सय प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।'

अपराधबाट प्रेरित कोलकातामा धेरै विरोध प्रदर्शन अनियन्त्रित राजनीतिक जुलुसहरूमा परिणत भएका छन्। यसमा राज्य सरकारसँग असन्तुष्ट सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का प्रदर्शनकारीहरूसँग प्रहरीको झडप भएको छ। 

भाजपा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी हो तर, यो पश्चिम बङ्गालको राजधानी कोलकातामा विपक्षी दल हो। भाजपाका प्रदर्शनकारीहरूले बनर्जी सरकारमाथि महिलाका लागि असुरक्षित वातावरण बनाएको आरोप लगाएका छन्। असुरक्षित वातावरणले चिकित्सकको हत्यालगायतका अपराध हुन दिएको उनीहरूले बताए। 

चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा पाइएको थियो। उनी ३६ घन्टाका सिफ्टका क्रममा विश्रामका लागि त्यहाँ गएको थाहा भएको छ। 

धेरै सहरमा चिकित्सक सङ्घहरूले हत्याको विरोधमा हडताल सुरु गरेका छन्। यसबाट गैर–आवश्यक सेवा बन्द भएका छन् तर पेशाकर्मी चिकित्सकहरू काममा फर्किएका छन्। 

उक्त हत्यामा एक जनालाई हिरासतमा लिइएको छ।

भदौ १०, २०८१ मंगलबार २०:१८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।