मधेसको आपूर्ति केन्द्रमा 'मर्चरी रेफ्रिजेरेटर' घोटाला : सेटिङमा खरिद, मापदण्डविपरित सामान ल्याउँदा कारबाहीबाट उन्मुक्ति

मधेसको आपूर्ति केन्द्रमा 'मर्चरी रेफ्रिजेरेटर' घोटाला : सेटिङमा खरिद, मापदण्डविपरित सामान ल्याउँदा  कारबाहीबाट उन्मुक्ति

काठमाडौँ : मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले लभ मेडिकल हललाई दुई करोड ८९ लाख ९५ हजार आठ सयको १२ वटा 'मर्चरी रेफ्रिजेरेटर'को टेन्डर दिएको थियो। यो शव नबिग्रियोस् भनेर राखिने एक किसिमको फ्रिज हो।

तर, शव राख्ने 'मर्चरी रेफ्रिजेरेटर'को टेन्डर पाउने लभ मेडिकल हलले बदमासी गरेपछि भुक्तानी रोकियो। तर कारबाही भने भएन।

लभ मेडिकल हलले 'मर्चरी रेफ्रिजेरेटर' ल्यायो। 'मर्चरी रेफ्रिजेरेटर' आइसकेपछि चेकजाँच गर्दा टेन्डर गर्दाको प्राविधिक स्पेसिफिकेशन र सप्लायर्सले टेन्डर प्रस्ताव गर्दा कबुल गरेको मापदण्ड अनुसारको 'मर्चरी रेफ्रिजेरेटर' थिएन त्यो। गलत सामान ल्याएको भनेर मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भुक्तानी रोकिदियो। तोकिएको अवधिभित्र कबुल गरे अनुसारको सामान नल्याएको हकमा कम्पनीमाथि कारबाही हुनुपर्ने हो। तर कारबाही गरेन मधेस प्रदेशले।

मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. मनिष पाण्डेले लभ मेडिकल हलले स्पेसिफिकेशन अनुसार कबुल गरेको मापदण्ड अनुसारको 'मर्चरी रेफ्रिजेरेटर' नल्याइदिएकाले भुक्तानी रोकिएको बताए।

चेकजाँचमा स्पेसिफिकेशन अनुसारको 'मर्चरी रेफ्रिजेरेटर' नआएपछि बायोमेडिकल इन्जिनियरबाट पीडीआई रिपोर्ट आएन। अनि भुक्तानी रोकिएको उनले बताए।

‘अन्तिम समयमा त्यस (मर्चरी रेफ्रिजेरेटर)को पेमेन्ट हुन सकेन,’ केन्द्रका निर्देशक डा. पाण्डेले उकेरासँग भने, ‘पीडीआई हुँदा त्यसको सक्सेस भएन। त्यसै कारणले त्यसको पेमेन्ट हुन सकेन।’

चेकजाँच गर्दा फेला पर्यो बदमासी

खरिद भएको सामग्री आइसकेपछि त्यो सामग्री टेन्डर भएको स्पेसिफिकेशन अनुसार छ छैन भनेर चेकजाँच गरिनुलाई पीडीआई (पोस्ट डेलिभरी इन्स्पेक्शन) भनिन्छ। विशेषगरी बायोमेडिकल इन्जिनियर लगायतको टिमले यस्तो चेकजाँच गर्नुपर्ने हुन्छ।

‘म कहाँ पीडीआई रिपोर्ट आएपछि पेमेन्ट गर्ने हो,’ डा. पाण्डेले भने, ‘बायोमेडिकल इन्जिनियरबाट हामीकहाँ पीडीआई रिपोर्ट आइपुगेन। त्यसैले पेमेन्ट रोकियो।’

निर्देशक डा. पाण्डेले 'मर्चरी रेफ्रिजेरेटर'को अब भुक्तानी हुन नसक्ने जानकारी दिए।

‘अब भुक्तानी हुँदैन। बजेट छँदै छैन, कहाँबाट दिने भुक्तानी," उनले भने, "हामीले भुक्तानी गरेका छैनौँ।’

भुक्तानी रोकिनु एक पक्ष भयो। तोकिएको मापदण्ड अनुसारको सामान नल्याउनेलाई सार्वजनिक खरिद कानुन अनुसार थप कारबाही समेत हुन्छ। तर सो सप्लायर्समाथि कुनै कारबाही भएको देखिएन।

कबुल गरेको 'मर्चरी रेफ्रिजेरेटर' नल्याइदिने लभ मेडिकल हललाई कारबाही गर्ने कि नगर्ने भन्ने विषयमा छलफल नभएको निर्देशक डा. पाण्डे बताउँछन्।

‘त्यसमा के प्रक्रिया हुन्छ कि हुँदैन एकचोटी हेर्नुपर्ला,’ निर्देशक डा. पाण्डेले भने, ‘अब के हुन्छ, त्यसको त अहिले भन्न सक्दिन।’

यसरी बढेको थियो खरिद प्रक्रिया

मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र २०८० माघ २१ गते (०४ फेब्रुअरी, २०२४) मा 'मर्चरी रेफ्रिजेरेटर'को टेन्डर गरेको थियो। केन्द्रले 'मर्चरी रेफ्रिजेटर, ६–च्याम्बर' दुई वटा र 'मर्चरी रेफ्रिजेटर, ४–च्याम्बर' दश वटा गरी १२ वटा 'मर्चरी रेफ्रिजेरेटर' खरिदका लागि टेन्डर गरेको थियो। केन्द्रका निर्देशक डा. पाण्डेले प्रदेशका विभिन्न अस्पतालका लागि 'मर्चरी रेफ्रिजेरेटर'को टेन्डर गरेको जानकारी दिए।

मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मर्चरी रेफ्रिजेरेटर खरिदका लागि भएको टेन्डरको 'प्रिबिड मिटिङ' फागुन ११ गते (२३ फेब्रुअरी, २०२४) लाई तोकिएको थियो। फागुन २२ गते (०५ मार्च २०२४) सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेन्डर खुल्ने मिति तोकिएको थियो।

तर, मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रिबिड मिटिङपछि यो टेन्डरमा केही बुँदा संशोधन गर्यो। त्यसपछि केन्द्रले सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)को विद्युतीय प्रणालीमा संशोधित टेन्डर कागजात प्रकाशित गर्दै टेन्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति एक हप्ता अगाडि नै सारेर फागुन १५ गते (२७ फेब्रुअरी, २०२४) सम्ममा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति राख्यो।

टेन्डर प्रस्ताव भइसकेपछि प्रस्ताव भएका टेन्डर कागजातको मूल्याङ्कनको चरण सुरु हुन्छ। मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मर्चरी रेफ्रिजेरेटर खरिदका लागि टेन्डर प्रस्ताव गर्ने सप्लायर्स कम्पनीहरूबाट प्रस्ताव भएको टेन्डरको कागजात मूल्याङ्कन गर्यो।

तर, मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८१ वैशाख २४ (०६ मे, २०२४) सूचना जारी गर्दै टेन्डर प्रस्तावक सप्लायर्स कम्पनीमध्ये जलेश्वर–०४ महोत्तरी ठेगाना रहेको लभ मेडिकल हललाई मात्रै प्राविधिक मूल्याङ्कनको चरणमा छनोट गरेर आर्थिक प्रस्ताव खोल्ने मिति तोक्यो।

सूचना अनुसार वैशाख ३१ (१३ मे, २०२४) लाई आर्थिक प्रस्ताव खोल्ने समय तोकिएको थियो। आर्थिक प्रस्ताव पनि खुल्यो।

आर्थिक प्रस्तावको मूल्याङ्कन भयो। प्राविधिक चरणबाटै अन्य सप्लायर्स कम्पनीलाई छनोट नगरेर पन्छाइदिएर एउटा मात्रै सप्लायर्स कम्पनीलाई बाँकी राखेपछि आर्थिक प्रस्तावको चरणमा खरिद हुने 'मर्चरी रेफ्रिजेरेटर'को मूल्यमा प्रतिस्पर्धा हुने कुरै भएन। अनि सेटिङ अनुसार नै बजेटको सिलिङ भित्र रहेर टेन्डर प्रस्ताव गर्ने सप्लायर्स कम्पनी लभ मेडिकल हलले नै स्वतः 'मर्चरी रेफ्रिजेरेटर'को टेन्डर पाउने नै भयो।

अन्ततः मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दुई करोड ८९ लाख ९५ हजार आठ सयमा उही लभ मेडिकल हलले नै 'मर्चरी रेफ्रिजेरेटर'को टेन्डर पायो।

प्राविधिक र आर्थिक दुवै चरणमा छनोट भएको सप्लायर्स कम्पनीलाई टेन्डर दिइन्छ। सेटिङ अनुसार नै उसले टेन्डर पायो।   टेन्डर पाएपछि निश्चित प्रक्रिया पूरा गरी टेन्डर पाउने सप्लायर्स कम्पनीले सामग्री ल्याएर जडान गरिदिने लगायतको काम गर्नुपर्ने हुन्छ। 

तर, टेन्डर कागजातमा उल्लेख भएको प्राविधिक स्पेशिफिकेशन अनुसार ‘लभ मेडिकल हल’ले जस्तो ‘मर्चरी रेफ्रिजेरेटर’ ल्याइदिने कबुल गरेको थियो त्यस्तो ‘मर्चरी रेफ्रिजेरेटर’ ल्याइदिएन।

यसरी टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मितिसमेत अघिसार्दै गरेको टेन्डरको ‘मर्चरी रेफ्रिजेरेटर’ आउँदा समेत कैफियत भेटिएपछि केन्द्रले भुक्तानी रोकिदियो।

मधेस प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले लभ मेडिकल हललाई ठेक्का दिएको ‘मर्चरी रेफ्रिजेरेटर’को टेन्डरको ठेक्का (आइएफबी) नं. ‘एमपी–पीएचएलएमसी–एनसीबी–गुड्स–१०–२०८०–८१’ हो। केन्द्रले यो  टेन्डरमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ–आइसिबी)लाई निषेध गरेर ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ–एनसीबी) गरेको थियो। नियम अनुसार दुई करोड भन्दा माथिको खरिदमा एनसीबी गर्न मिल्ने देखिँदैन। यती ठुलो रकमको खरिदमा एनसीबी गर्नुले नै टेन्डरमा सुरुवातीबाटै निश्चित व्यापारीलाई नै टेन्डर दिनेगरी खरिद प्रक्रिया सुरु भएको पुष्टि हुन्छ।

मधेस प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले लभ मेडिकल हललाई दिएको ‘मर्चरी रेफ्रिजेरेटर’ टेन्डर अन्तर्राष्ट्रिय स्तरको बोलपत्र (इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ–आइसिबी) नभई ‘राष्ट्रिय स्तरको बोलपत्र (नेश्नल कम्पिटेटिभ बिडिङ–एनसीबी) हो।

आइसिबी टेन्डर भए अर्को वर्ष पनि भुक्तानी गर्ने बाटो बाँकी रहन्थ्यो। तर, यो ‘मर्चरी रेफ्रिजेरेटर’को टेन्डर भने एनसीबी भएकाले २०८१ को असार मसान्तसम्मा यसको भुक्तानी गरिसक्नुपर्ने थियो। त्यसैले अर्को वर्ष (आर्थिक वर्ष २०८१-०८१) मा भुक्तानी गर्न सक्ने अवस्था रहेन। त्यो बजेट फ्रिज भएर गइसक्यो।

त्यसैले कबुल गरेको ‘मर्चरी रेफ्रिजेरेटर’ नल्याइदिने  ‘लभ मेडिकल हल’को भुक्तानी त हुने आधार देखिँदैन नै।

त्यतिमात्रै हैन त्यसरी झुक्क्याएर एकथरी मापदण्डको ‘मर्चरी रेफ्रिजेरेटर’ ल्याइदिन्छु भनी कबुल गरेर टेन्डर प्रस्ताव गर्ने अनि टेन्डर पाएपछि भने मापदण्ड अनुसारको ‘मर्चरी रेफ्रिजेरेटर’ नल्याइदिने ‘लभ मेडिकल हल’लाई कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ।

मधेस प्रदेश ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ले फेब्रुअरी १४, २०२४ मा १२८ स्लाइसको दुई वटा सिटी स्क्यान मेसिन खरिदका लागि गरेको टेन्डर पनि सेटिङमा अगाडि बढेको थियो। यसबारे उकेराले समाचार सम्प्रेषण गरेपछि टेन्डर नै रद्द भएको थियो।

भदौ १०, २०८१ मंगलबार १९:१९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।