दसैंमा फ्याट्ट चलिएला भन्ने सोचेका सुशिलको फिल्म ‘आउट लः दफा २१९’को मिति सर्यो, दर्शकसँग मागे माफी
काठमाडौं : नेपाली फिल्ममेकरले हचुवाको भरमा आफ्नो फिल्मको प्रदर्शन मिति तोक्दै आइरहेको कुरा नयाँ रहेन। फिल्मको प्रदर्शन मितिमा फिल्म नआउनु पनि स्वभाविक नै हो। कहिले प्राविधिक त कहिले के भन्ने बहानामा उनीहरुले फिल्मको कमाई नहुने देखेपछि फिल्मलाई सार्दै आएका छन्।
आगामी असोज ३ बाट रिलिजमा आउने भनिएको फिल्म ‘आउटलः दफा २१९’को अनिश्चितकालका लागि सरेको छ। निर्माणपक्षले मंगलबार एक विज्ञप्ति जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ बाट फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो।
निर्धारित समयमा आफ्नो फिल्म नआउने भएपछि यस फिल्मका अभिनेता सुशिल श्रेष्ठले माफी मागेका छन्। यो फिल्म सुशिलले निकै अपेक्षा गरेको थियो। दसैंको मौसममा फ्याट्ट चलिएला भन्ने उनको दाउ थियो। तर, निर्माण पक्षले अचानक फिल्मको प्रदर्शन मिति सारेपछि रन्थनिएका अभिनेता सुशिलले दर्शकसँग माफी मागे।
सामाजिक संजालमा उनी लेख्छन्, ‘पूर्वघोषित मितिमा आउन नसकेकोमा क्षमा माग्दै नयाँ रिलिज मिति चाँडै घोषणा गर्ने जानकारी गराउँछौँ। तपाईंहरूको धैर्यता र साथका लागि धेरै धेरै धन्यवाद। हामी तपाईंहरूले प्रतीक्षा गरे जस्तै चलचित्र लिएर आउनका लागि लागिपरेका छौं।’
यसअघि फिल्मको फस्टलुक, टिजर सार्वजनिक भइसकेको थियो।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको मुख्य भूमिका छ।
फिल्ममा अमित अग्रहरिको लगानी छ।
भदौ ११, २०८१ मंगलबार १९:१६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।