रूसले युक्रेनमा दोस्रो दिन पनि आक्रमण गर्यो

रूसले युक्रेनमा दोस्रो दिन पनि आक्रमण गर्यो
फाइल

एजेन्सी : रूसले युक्रेनमा ८१ साहेद लडाकु ड्रोन र १० वटा क्रुज र ब्यालेस्टिक मिसाइलले दुई दिनमा दोस्रो आक्रमण गरेको युक्रेनी वायुसेनाले जनाएको छ।

वायु रक्षाले १६ क्षेत्रमा ६० ड्रोन र पाँच क्रुज मिसाइल खसालेको विज्ञप्तिमा उल्लेख छ। स्थानीय समयानुसार बिहान ९ बजेसम्ममा १० वटा लडाकु ड्रोन युक्रेनी हवाई क्षेत्रमा थिए। 

मध्य युक्रेनी सहर क्रिभी रिहस्थित एक होटलमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको र पाँच जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।

क्षेत्रीय गभर्नर इभान फेदोरोभका अनुसार दक्षिणी सहर जापोरिज्जियामा एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

पूर्वी खार्किभ क्षेत्रमा दुईवटा पूर्वाधार संरचनामा आक्रमणहुँदा ४१ वर्षीय व्यक्तिको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। 

किएभ सिटी सैन्य प्रशासनका अनुसार लगभग १५ ड्रोन र धेरै केएच-१०१ मिसाइलहरूले युक्रेनी राजधानीलाई निशाना बनाएको तर, सबै हवाई लक्ष्यलाई रोकिएको थियो। 

सोमबार रूसले युक्रेनमा द्वन्द्व सुरू भएयताकै सबैभन्दा ठूलो आक्रमणमा एक सय २७ मिसाइल र एक सय नौ लडाकू ड्रोन प्रहार गरेको थियो। युक्रेनको आपत्कालीन राज्य सेवाका अनुसार आक्रमणमा सात जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।   

भदौ १०, २०८१ मंगलबार १८:५६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।