‘शाम्बाला’को ट्रेलर रिलिज कार्यक्रममै अवार्ड बोकेर आइन् थिन्ले!
काठमाडौं : मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’की अभिनेत्री थिन्ले ल्हामोको यतिबेला विश्वभर चर्चा छ। किनभने उनले यो फिल्मबाट स्विट्जरल्यान्डमा हालै सम्पन्न प्रतिष्ठित लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि ‘बोक्कालिनो डीओर’ अवार्ड नै जित्न सफल भइन्। उनले अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दाको खुशीको सीमा नै रहेन। त्यो उनको खुशी मंगलबार पुलचोकमा रहेको लबिङ मलको हलमा पनि देखियो।
निर्माण टिमले विभिन्न देशमा भएको फिल्म फेस्टिभलमा अवार्ड जितिसकेपछि नेपालमा प्रदर्शनको तयारी थालेको छ। यहि भदौ २८ बाट नेपालभर प्रदर्शनको लागि तयारी थालेको फिल्मको मंगलबार पत्रकार तथा कलाकार राखेर नेपाली संस्करणको ट्रेलर सार्वजनिक गरियो। यो फिल्मको दोस्रो ट्रेलर हो।
उक्त ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री थिन्लेले आफूले पाएको अवार्ड नै बोकेर आएकी थिइन्। अवार्ड पाउँदाको खुशी साट्दै उनले कलाकर्मीले ‘यो अवार्ड तिम्रो मात्रै होइन नि मेरो पनि हो’ भन्ने गरेको कुरा सुनाइन। उनको कुरामा कार्यक्रमकी सञ्चालन गरिरहेकी निशा अधिकारीले मैले पनि भनेको हो भन्दै अझ हौसला दिइन्।
ट्रेलर हेर्न पुगेका नीर शाहले बल्ल नेपाली फिल्म बन्न थालेको बताए। उनले दश वर्षअघि बनेका फिल्महरू फिल्म नभएको दाबी गरे। उनले फिल्म जस्तै जस्तै मात्रै बनेको र अहिलेको 'शाम्बाला' साँच्चिकैको फिल्म बनेको बताए।
उनले उदाहरण दिँदै भने, ‘कसैले आफ्ना छोराछोरी फलानो जस्तै बन है भन्ने गरेका छन्। तर, त्यहि बन कसैले पनि भनेका छैनन्। नेपाली फिल्ममा पनि फलानाको फिल्म जस्तै बनाउने है भन्छन्। तर, जस्तै मात्रै हुन्छ, तर फिल्म बनाउँदैनन्।’
यो फिल्म ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजम जनरामा निर्माण भएको हो। यसअघि फिल्म ‘कालोपोथी’ निर्देशन गरेर चर्चा कमाइसकेका निर्देशक भामको यो दोस्रो निर्देशकीय फिचर हो। फिल्म ‘कालोपोथी’अन्तराष्ट्रिय क्षेत्रमा प्रदर्शनपछि नेपालमा रिलिज गर्दा आफूले गाली खाएको भन्दै उनले यसपटक अघिल्ला हप्ता नै नेपालमा रिलिज गर्न लागेको जानकारी दिए।
उनका अनुसार नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ। झण्डै १४ करोड रुपैयाँ बजेट रहेको यो फिल्ममा थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा छन्।
टिजर हेर्दा यो फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेश गरेको छ। एक पुरुष र उनका दुई साना भाइसँग बहुआयामी वैवाहिक सम्बन्धमा रहेकी एक महिला पेमाको कथालाई फिल्ममा उतारिएको छ।
फिल्म निर्माणमा फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान र अमेरिकी कम्पनीले पनि सहकार्य गरेको यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो।
भदौ ११, २०८१ मंगलबार १८:३७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।